दुप्चेश्वर धाम परिसरमा सरसफाई
बिदुर– धार्मिक पर्यटकिय सुन्दरताको संरक्षण गर्दै नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव धाम परिसरमा वृहत सरसफाइ अभियान गरिएको छ । यसवाट स्वास्थ्य सुरक्षाको प्रभावकारितामा वढोत्तरी भएको छ । दुप्चेश्वर गाउँपालिका तथा दुप्चेश्वर क्षेत्र विकास कोषको संयुक्त आयोजनामा सरसफाई अभियान गरिएको हो ।

अभियानमा स्थानीयवासी, जनप्रतिनिधि, विभिन्न संघसंस्था तथा सरोकारवालाको सहभागिता रहेको थियो । सरसफाई अभियानमा गाउँपालिकाका अध्यक्ष शंकरवहादुर थापा, उपाध्यक्ष माकुरी तामाङलगायत अन्य जनप्रतिनिधि, रुडेक नेपाल, कोषका कर्मचारी तथा स्थानीयबासीको सहभागिता रहेको थियो । सरसफाई अभियानले धार्मिक क्षेत्रको स्वच्छता, वातावरण संरक्षण तथा सामूहिक उत्तरदायित्व बोधलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ ।

यस प्रकारका सामूहिक अभियानले पवित्र धामको गरिमा बढाउनुका साथै समुदायमा सहकार्य र एकताको सन्देश प्रवाह गर्ने विश्वास लिइएको गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ । आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।














































