तारकेश्वर गापामा कार्यालय पुर्ववत सन्चालन
बिदुर – सरकारले दिएको आइतबारको बिदा र ९ बजेदेखिको कार्यालय समय प्रभावकारी नदेखिएको जनाउंदै नुवाकोटको तारकेश्वर गाउंपालिकाले कार्यालयहरु पुर्ववत रुपमा नै सन्चालन गर्ने निर्णय गरेको् छ । गापामा रहेका कार्यालयहरू पूर्ववत् रूपमा आइतवारदेखि विहान १० वजेदेखि वेलुकी ५ वजेसम्म सञ्चालन हुने जनाएको छ ।तारकेश्वर गापा कार्यालय दाङसिङमा गापा अध्यक्ष शिव अधिकारी अविरलको अध्यक्षतामा सम्पन्न गाउं कार्यपालिकाको आकस्मिक वैठकले तीन बुँदे निष्कर्षसहित कार्यालयहरु पुर्ववत नै सन्चालन गरिने निर्णय गरेको हो ।

तारकेश्वर गापाले दुई साताको अध्ययन र सेवाग्राहीहरूको सुझावबाट आइतबारको बिदा र ९ बजेदेखिको कार्यालय समय प्रभावकारी नभएको पाइएपछि गापा अध्यक्ष शिव अधिकारी अविरलको प्रस्तावमा आइतवार सम्पन्न गाउँ कार्यपालिकाको आकस्मिक बैठकले तारकेश्वरका कार्यालयहरू पूर्ववत् रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो । संघीय सरकारको नीति अनुरुप सातामा दुई दिन कार्यालय बन्द गर्दा विशेष गरि सेवाग्राहीहरूमा निराशा बढेको र आइतबारको बिदाको समयको परिपूरणका लागि बिहान थप गरिएको एक घण्टाको समय ग्रामीण भेगका लागि अनुकूल नभएको भनी जनमानसबाट आएका गुनासाहरूलाई मध्यनजर गर्दै दुई साताको अभ्यासबाट प्राप्त अनुभवलाई समेत विश्लेषण गरी उक्त निर्णय गरिएको गापा अध्यक्ष अधिकारीले बताए ।

उनका अनुसार, दुई साताको अभ्यासबाट प्राप्त अनुभव र सेवाग्राहीहरूको सुझावका आधारमा विभिन्न तीन बुँदे निष्कर्षसहित यहि वैशाख २२ गते मंगलबारदेखि लागू हुने गरी गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरू पूर्ववत् रूपमा साताको शनिवार वाहेक ६ दिन नै सञ्चालन हुने र कार्यालय समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै कायम हुने निर्णय गरिएको हो । गापा कार्यापालिका वैठकले बिहान ९ बजेदेखि १० बजेसम्मको समय सेवाग्राहीको लागि अनुकूल नभएको निष्कर्श निकालेको छ । ग्रामीण भेगमा सेवाग्राहीहरू टाढा टाढाबाट गाउँपालिका तथा वडा कार्यालयमा सेवा लिन आइपुग्नुपर्ने र बिहानको नियमित कामधन्दा सकेर खाना खाएर निस्किनुपर्ने हुँदा १० बजेभन्दा अघिको समय सेवाग्राहीहरूका लागि अनुकूल नभएको र दुई साताको अभ्यासमा बिहान ९ बजेदेखि १० बजेसम्मको समयमा कार्यालयहरूमा सेवाग्राहीको उपस्थिति शून्यप्रायः रहेको देखिएको अध्यक्ष अधिकारीले वताए ।

अधिकांश सेवाग्राहीहरूबाट बिहानको समय आफूहरूका लागि अनुकूल नहुने र बिहानको थप एक घण्टाले सातामा दुई दिन बन्द हुने सेवाको भर्पाई हुन नसक्ने प्रतिक्रिया प्राप्त भएपछि उक्त निर्णय गरिएको अध्यक्ष अधिकारीले वताए । घर टाढा भएका कर्मचारीलाई असहजता उत्पन्न भएको कारण गाउँपालिका र मातहतका कार्यालयहरूमा कार्यरत अधिकांश कर्मचारीहरू बाहिरी जिल्लाहरूका बासिन्दा रहेका र गाउँपालिका वरपर डेरा गरी बस्ने भएकाले सातामा दुई दिन भएको बिदाले खासै सहुलियत नमिल्ने देखिएकाले साविककै समय अनुसार कार्यालय सन्चालन गर्ने निर्णय गरिएको तारकेश्वर गापा कार्यालयले जनाएको छ ।

कर्मचारीहरुलाई शनिवार र आइतवारको दुई दिने बिदामा घर गएर फर्किन पनि मुस्किल हुने र डेरामै बसेर कुनै उल्लेख्य कामबिना नै हप्ताको दुई दिनको समय खेर जाने अवस्था देखिएको तारकेश्वर गाउं कार्यपालिकाले उक्त निर्णय गरेको हो । बिहान ९ बजे नै कार्यालय पुग्नुपर्दा बिहानको नियमित कामधन्दा सकाएर, खाना पकाएर खाएर निस्किन मुस्किल परिरहेको र कार्यालय पुगेर पनि सेवाग्राहीको उपस्थिति नहुँदा काममा ऊर्जा र सृजनशीलता नजागेको, बरु झनै आलस्य बढेको गुनासो कर्मचारीवर्गबाट उल्लेख्य मात्रामा आएको पाइएको अध्यक्ष अधिकारीको भनाई छ ।

दुई दिने विदाले इन्धनको खपत घटाएको नभई बढाएको उक्त गापाले ठहर गरेको छ । अमेरिका इरान युद्धका कारण संघीय सरकारले इन्धनको खपत न्यूनीकरण गर्न सातामा दुई दिन बिदा दिने नीति अख्तियार गरेको थियो । तर, सातामा दुई दिन बिदा हुँदा कर्मचारी र जनप्रतिनिधिहरू प्रायजसो गाउँ छोडेर सदरमुकाम तथा राजधानीतिर निस्किने हुँदा इन्धनको खपत झनै बढेको पाइएको अध्यक्ष अधिकारीले वताए । अध्यक्ष अधिकारीले यसको विपरीत, कार्यालय सञ्चालन हुँदाका दिन हुने गाउँभित्रैको आवागमनले बिदाका समय गाउँ बाहिरको यात्रा गर्दा हुने भन्दा निकै कम इन्धनको खपत हुने दावी गरे ।

सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाइराख्न र ग्रामीण भेगका सेवाग्राहीको अनुकूलतालाई समेत मध्यनजर गर्दै ’जनभावना र जनहित नै सर्वोपरि हो’ भन्ने निष्कर्ष सहित स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गाउँपालिकाले आफू मातहतका कार्यालयहरू पूर्ववत् रूपमै सञ्चालन गर्ने निर्णय गरेको बताउँदै अध्यक्ष अधिकारीले मंगलबारदेखि नै सोही अनुरुप सेवा सञ्चालन गर्न माताहतका कार्यालय, शाखा र निकायहरूलाई अधयक्ष अधिकारीले निर्देशन दिएका हुन् । अध्यक्ष अधिकारीले पूर्ण जोश र इमानका साथ जनताको इच्छा र आवश्यकतालाई ध्यानमा राखी सेवा प्रवाहमा खटिन गाउँपालिका मातहतका सबै निकाय र कर्मचारीलाई निर्देशन दिएका छन् ।

तारकेश्वर गापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा भने गाउँपालिकाले चैत्र अन्तिम सातामै दुईदिने बिदाको नीति अवलम्बन नगर्ने निर्णय गरी सोहीअनुसार साताको ६ दिन नै सेवा सञ्चालन गरिरहेको छ । अध्यक्ष अधिकारीले यस निर्णयलाई संघीय सरकारको नीतिको अवज्ञा नभई स्थानीय सरकारको अधिकार क्षेत्रभित्रको स्थानीय आवश्यकता र जनभावना अनुरूपको स्थानीय नीतिका रूपमा बुझिदिन पनि सम्बद्ध सबैमा आग्रह गरेका छन् । तारकेश्वरले विद्यालय भने यसअघि नै सन्चालन गरिसकेको छ ।












































