बालविवाह गराएको कसुरमा पक्राउ
बिदुर – नुवाकोटको पुर्वी भेगमा रहेको ओखरपौवामा बालविवाह गराएको कसुरमा चार जना पक्राउ परेका छन् । हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ककनी गाउँपालिका ३ गणेशस्थान ओखरपौवामा १४ वर्षकी वालिकालाई विवाह गराइदिएको कसुरमा दुई महिलासहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

राम्रो खान लगाउन पाउने, सुखसुविधा पाउने, सुनका गरगहना किनीदिने भनि बिश्वास दिलाई प्रलोभनमा बालबिवाह गराईदिएको कसुरमा चार जनालाई पक्राउ गरी नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति प्रापत भई हिरासतमा राखेर थप अनुसन्धान कार्य भई रहेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार उक्त घटनामा पक्राउ परेकाहरुमा मकवानपुर बकैया गाउँपालिका ७ को २२ वर्षिय श्याम राई, मकवानपुरकै बागमती गापा ७ की ३८ वर्षिया सुमित्रा राई, सोही स्थानका ४५ वर्षिय बिनोद राई र नुवाकोटको ककनी गाउँपालिका ३ की ३५ वर्षिया पवित्रा राई रहेका छन् । उनीहरु चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।









































