वृद्धाश्रममा वैंकद्वारा आधुनिक मेशिन प्रदान
बिदुर – नुवाकोटको देवीघाटस्थित वृद्धाश्रममा आधुनिक मेशिन प्रदान गरिएको छ । बिदुर नगरपालिका ५ देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका लागि कपडा धुने आधुनिक मेशिन प्रदान गरिएको हो । ज्योति विकास बैंक लिमिटेड बट्टार क्लष्टरले सामाजिक उत्तरदायित्वको भावना अनुसार विहीवार वृद्धाश्रम पुगेर एक थान लुगा धुने आधुनिक मेशिन प्रदान गरेको हो ।

यसवाट वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको कपडा धुन सुविधा पुगेको छ । “सेवा नै धर्म हो, कर्म नै प्राप्ति हो” भन्ने भावनालाई आत्मसात गर्दै उक्त वृद्धाश्रमलाई कपडा धुने मेसिन सहयोग स्वरुप प्रदान गरिएको ज्योति विकास बैंक बट्टार क्लष्टर प्रमुख निशिल ढकालले जानकारी दिए । उनका अनुसार वैंकले सामाजिक उत्तरदायित्वको लक्ष्य अनुसार उक्त सहयोग प्रदान गरेको हो ।

उक्त वृद्धाश्रममा ३७ जना वृद्ध बाआमा आश्रित रहेका छन् । सरसफाइका लागि दैनिक जीवन सहज बनाउन बैंकले गरेको उक्त सहयोगले वृद्ध बाआमाहरुको कपडा धुन सुविधा पुगेको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिए । वृद्धाश्रम पुगेर उक्त आधुनिक मेशिन ज्योति विकास बैंक बट्टार क्लष्टर प्रमुख निशिल ढकाल, नेपाल उद्योग बाणिज्य महासंघकी केन्द्रीय सदस्य गीता अमात्यलगायतले हस्तान्तरण गरेका हुन् ।

ज्योति विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न भौतिक सहयोगहरु प्रदान गर्दै आएको छ । बैंकले यसअघि पनि नुवाकोटका विभिन्न स्थानमा कम्युटर, प्रिन्टर, वेवि वार्मरलगायतका सामग्री प्रदान गरिसकेको छ । एह महिना अगाडि पनि वैंकले नुवाकोटको वेलकोटगढी नपा ७ महादेवफाँटस्थित महादेव माविमा पुगेर एक थान कम्प्युटर, एक थान प्रिन्टर प्रदान गरिसकेको छ ।




















































