बजार नभत्कने गरी सडक विस्तारको तयारी भएकै हो त ?

शिव चौलागाईं
१२ श्रावण २०७६, आईतवार ०८:०९

मकवानपुर ।  मकवानपुरको हेटौंडाको सडक विस्तारबारे बहस धेरै भयो । सडक फराकिलो नहुँदा बढेको चाप थेग्न नसकिरहेको अवस्था एकातिर छ भने प्रदेश ३ को राजधानी हेटौंडाको सडकको अहिलेको हालतले जिस्काइ रहेको भान जो कोहीलाई हुन्छ । सडक विभागले गत असार ७ गते सडक सिमाभित्रको संरचना हटाउन भन्दै सूचना निकालेपछि अब हेटौंडाको हालको सडक रहेको बजारक्षेत्रबाटै सडक विस्तार हुने भयो भन्ने धेरैलाई लागेको थियो । तर सडक डिभिजन कार्यालय हेटौंडाले बर्षाका कारण सडक विस्तार कार्य अगाडी बढाउँन नसकिएको भन्दै रोकेको छ । असार २२ गतेबाट सुरु भएको विस्तार कार्य २७ गतेबाट भएको बर्षाका कारण भन्दै रोकिएको छ । सडक विस्तार कार्य रोकिनुभन्दा पनि सडक विस्तारका विषयमा केही सरकारबाटै महत्वपूर्ण निर्णय हुन लागेकाले तत्कालका लागि रोकिएको पनि बताइन्छ । सरकारले हेटौंडाका लागि मात्र यस्तो विशेष निर्णय गर्न सक्ला वा नसक्ला त्यो अर्को बहसको विषय हो तर पटक पटक सूचना निकाल्दै सडक विस्तार कार्य आरम्भ गरिहाल्ने र फेरी बिचमा रोकिने कार्यमा यो पटक भने हेटौंडाका विषयमा विशेष निर्णय हुन लागेको केही जानकार बताउँछन् । सरकारले हेटौंडाको बजार नभत्काउँनका लागि विकल्पका रुपमा रहेको रापती देखि चौकीटोल क्षेत्रबाट हाइवे बनाउँने निर्णय गर्ने केही व्यक्तिले बताउँन थालेपछि कतै त्यो पनि सम्भावना हो की भन्ने बहस भइरहेको छ । तर हेटौंडाको हकमा मात्र सरकारले यसो गर्न नसक्ने भन्नेहरु पनि छन् ।

मध्यस्थता मिडियाले हेटौंडाको सडक विस्तार कार्यका विषयमा मकवानपुरबाट प्रतिनिधीत्व गर्ने राष्ट्रियसभाका सदस्य रामचन्द्र राईसंग अन्तरवार्ता गर्दा उनले सरकारले हेटौंडा बजार नभत्कने गरी बाइपास सडकलाई विकल्पका रुपमा अगाडी बढाउँन सरकारले निर्णय गर्न लागेको बताएपछि अहिले विभिन्न टिकाटिप्पणी आइरहेका छन् । हेटौंडाको बिच बजारबाट सडक विस्तार गर्दा हालको संरचना क्षति हुने र बजारको स्वरुप पनि बिग्रने भन्दै मकवानपुर उद्योग वाणिज्य संघ लगायत सरोकारवालाले हेटौंडाको सडक विस्तारको विकल्पका बारेमा पटक पटक सरकार, मुख्य पार्टीका शीर्ष नेतृत्वलाई ध्यानाकर्षण गराउँदै आइरहेका थिए । तर एसिएन हाइवेको मापदण्ड अनुसार पहिलेकै सडकबाट अघि बढाउँनुपर्ने विस्तार कार्यको हेटौंडाको हकमा नक्सा नै परिवर्तन कसरी हुनसक्छ भनेर प्रश्न पनि तेर्सिएको छ ।
सडक विस्तारका विषयमा प्रदेश सरकारले पनि १६ मिटर फराकिलो पार्नको लागि संघीय सरकारलाई पत्राचार गर्ने भन्दै मन्त्रीपरिषद बैठकबाट निर्ण नै गरेको थियो । मन्त्रिपरिषद बैठकको निर्णयसंगै संघीय सरकारलाई पत्राचार गरिएपछि पनि डोजर चलाइएपछि सडक विस्तार कार्य हालकै सडकमै हुन भनियो । हाइवे कहाँबाट विस्तार गर्ने भन्ने विषयमा नागरिकलाई अन्यौलमा पार्ने काम नेता देखि सडक डिभिजन कार्यालयसम्मले गरेको पाइन्छ । कार्यालयले पुनः सडक नाप्ने काम गरेको छ । लगत सङ्कलनको लागि भन्दै कार्यालयले २५ मिटर र १६ मिटर दुवै सिमानालाई आधार मानेर सडक नाप्ने काम गरेको छ । यसले पनि मुख्य बजारक्षेत्रको सडक १६ मिटर कायम गराउँनका लागि भित्रभित्रै तयारी पो हो की भन्ने नागरिकलाई लागिरहेको छ ।

प्रदेश राजधानी हेटौंडाका लागि फराकिलो सडक अबको अनिवार्यता भइसकेको अवस्थामा कहाँबाट लैजाने भन्ने बहस हुनु स्वभाविक हो । तर नागरिकलाई अन्यौलमा पार्ने गरी विस्तार कार्य हुनु राम्रो नहुने यसका जानकार बताउँछन् । देशभरको साझा समस्या सडक विस्तार गर्दा सडक सिमाभित्र बनेका संरचना कसरी हटाउँने भन्ने विषय हो । यो समस्याको सजिलो समाधान पनि छैन । हेटौंडाकै सवालमा पनि अहिलेको बाइपासलाई हाइवे बनाएर अघि बढ्नुभन्दा हेटौंडाको अहिलेकै सडकका संरचना भत्काउँदा क्षतिपूर्ति दिनु कम लागतमा हुने विश्लेषण पनि आइरहेका छन् । मकवानपुर उद्योग वाणिज्य संघ लगायत सरोकारवालाले पनि कि बाइपासलाई विकल्प बनाएर जानुपर्ने कि त सडक विस्तार गर्दा हेटौंडा बजारमा क्षति पुगेको संरचनाको उचित क्षतिपूर्ति पाउँनुपर्ने माग छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*