अभिमुखीकरणबाटै जनप्रतिनिधीले लिएको प्रणले सार्थकर्ता पाउँदै

मनहरी गाउँपालिकाले यसरी बनाउँदैछ मुलुकै पहिलो बालमैत्री गाउँपालिकाको ऐतिहासिक परिचय
शिव चौलागाईं
२६ पुष २०७६, शनिबार २३:०८

मकवानपुर । गत वर्ष २०७५ वैशाख २४ र २५ गते मकवानपुरको मनहरी गाउँपालिकाका जन प्रतिनिधी गाउँपालिकाकै आयोजनामा संचालित बालमैत्री स्थानीय शासन अवलम्बन पद्दतिबारे अभिमुखीकरणमा सहभागी बने । बालमैत्री अभियानका राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवेले बालमैत्री स्थानीय शासनका विषयमा गरेको सहजीकरणका साथै आफ्नो गाउँपालिकामा बालमैत्री स्थानीय शासनका धेरैजसो काम भइसकेको अब केही काममा प्राथमिकताका साथ लाग्नुपर्ने पालिकाका जनप्रतिनिधीलाई अनुभूत भयो । यही अभिमुखीकरणमा उनीहरुले प्रष्ट बुझें-जनप्रतिनिधीले गर्नुपर्ने ३ सय ५८ वटा काममध्ये बालमैत्री स्थानीय शासन अवलम्बन गर्दा २ सय ६४ वटा काम सम्पन्न हुँदा रहेछन् । यी अभिुमखीकरणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत जनप्रतिनिधीलाई मनहरी गाउँपालिका पनि बालमैत्री गाउँपालिका बनाउँने हुट्हुटी लाग्यो । यहि दिन गाउँपालिकाले प्रण गर्‍यो अब मनहरी गाउँपालिकालाई नेपालकै पहिलो बालमैत्री गाउँपालिका बनाउँने ।
गाउँपालिकाका जनप्रतिनिधीको यो हुट्हुटीले अन्तत : पर्सि पुष २८ गते मनहरी गाउँपालिकाको एउटा ऐतिहासिक परिचय बन्दैछ- बालमैत्री स्थानीय शासन अबलम्बन गर्ने नेपालकै पहिलो गाउँपालिकाका । देशका विभिन्न ४ सय ६० वटा गाउँपालिका मध्ये मनहरीले बालमैत्री शासन अबलम्बनका लागि विभिन्न अभियानहरु संचालन गर्दै सफलतामा पुग्न थालेको हो । बालमैत्री गाउँपालिका घोषणाको अन्तिम तयारीमा पुगेको जानकारी गराउँन शनिबार मनहरीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष एकराज उप्रेतीले मुलुकको ४ सय ६० वटा स्थानीय तहमध्ये बालमैत्री घोषणाको तयारीमा आफूहरु पुग्न लाग्दा खुशी लागेको बताए । ‘विभिन्न टोल टोलमा पुगेर अभियानहरु संचालन गरियो । बालमैत्री घोषणाका लागि आवश्यक ३९ वटा सूचक पूरा गर्दै आज देशकै पहिलो बालमैत्री गाउँपालिका घोषणाको क्षणमा आइपुगेका छौं । ’ अध्यक्ष उप्रेतीले भने,‘ गाउँपालिकाका साथै सरोकारवाला विभिन्न निकायबाट पनि आवश्यक सहयोग भएका कारण आज हामी ऐतिहासिक परिचय बनाउँदैछौं । ’

अध्यक्ष उप्रेतीका अनुसार बालमैत्री घोषणाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रतिनिधिसभा सदस्य,राष्टियसभा सदस्य, विभिन्न स्थानीय तहका प्रमुख लगायत सरोकारवालाको उपस्थितीमा बालमैत्री गाउँपालिका घोषणाको तयारी गरिएको अध्यक्ष उप्रेतीको भनाई छ ।

गाउँपालिकालाई बालमैत्री बनाउँने अन्तिम चरणमा पत्रकारसंग छलफलमा रहेकी पालिका उपाध्यक्ष मनिला विष्टले बालमैत्री घोषणाको तयारीको सफलतासम्म पुग्नुका अन्तरकथा सुनाइन् । गाउँपालिकाले गाउँमा बालबालिकाको अधिकार लगायत हरेक क्षेत्रको अवस्थाका बारेमा बालमैत्री सहजकर्ताले अध्ययन गरेको, बालअधिकार प्राप्त गर्ने सवालमा सबै कुरा ध्यान दिइएको, बाल विवाह रोकिएको, बदर गरिएको, बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका विभिन्न सूचकमाथि गम्भीरता पूवर्क ध्यान दिइएको उपाध्यक्ष विष्टले बताइन् ।

बालमैत्री अभियानलाई सफल बनाउँन वडा वडामा बालमैत्री सहजकर्ता खटाएर विभिन्न अभियान संचालन गरिएको परिणाम स्वरुप बालमैत्री गाउँपालिका घोषणा गर्ने सुखद अवसरमा आफूहरु पुगेको उपाध्यक्ष विष्टले बताइन् । अहिले पालिकाको ९ वटै वडामा बालमैत्री सहजकर्ताले बालमैत्री स्थानिय शासनसम्बन्धि सफ्टवेयर र हार्डवेयरको काम गरिरहेको पनि उपाध्यक्ष विष्टले जानकारी दिइन् ।

गाउँपालिकास्तरीय अन्तर धार्मिक संजाल गठन गरेर बाल गरी बालविवाह, बालश्रम, घरेलु हिंसा, लैंगिक हिंसा, मानव बेचबिखन विरुद्द अभियानहरु चलाउँनका साथै टोलविकास संस्था, महिला सहकारी, विद्यालयमा नियमित रुपमा जागरणमूलक कार्यक्रम गाउँपालिकाले विशेष प्राथमिकताका साथ संचालन गर्‍यो ।

गाउँपालिकाले बालमैत्री स्थानिय शासन राष्ट्रिय रणनीति २०६८ र बालमैत्री स्थानिय शासन कार्यान्वयन कार्यविधि २०६८, नेपालको संविधान २०७२ को मौलिक हक, बालबालिका ऐन २०७५, स्थानीय सरकार संचालन ऐन २०७४ मा बालबालिका केन्द्रित कानूनी व्यवस्थालाई अवलम्बन गरी बालमैत्री स्थानिय शासन अवलम्बनको अभियान संचालन गरेको थियो । बालमैत्री स्थानीय शासन अवलम्बनका लागि आवश्यक विभिन्न ३९ वटा सूचकका विषयमा जिल्ला समन्वय समितिले गरेको अनुगमनमा आफ्नो प्रगति भएको पाइएपछि गाउँपालिका झनै हर्षित बन्न पुग्यो । फलस्वरुप : नेपालकै पहिलो बालमैत्री गाउँपालिकाको ऐतिहासिक परिचय पाउँने प्रतिक्षामा पुगेको छ -मनहरी गाउँपालिका ।

पत्रकार सम्मेलनमा राष्ट्रिय सहजकर्ता चौवे, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईं, गाउँपालिका सामाजिक विकास शाखाका अधिकृत राजेन्द्रप्रसाद चौलागाईं, अभियानका प्रचार प्रसार समितिका शिवकुमार काशी लगायतको उपस्थिती थियो । ऐहिासिक घोषणाका दिन गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएको छ । बालमैत्री घोषणा समारोह मनहरी गाउँपालिका ७ मा रहेको राष्टिय रोटरी माध्यामिक विद्यालयको प्रांगणमा गर्ने तयारी छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *