आज माघ १९, कालो दिनको स्मरण

मकवानपुर । तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजनीतिक कू गरेको माघ १९ गते । आजका दिनलाई कालो दिनका रुपमा स्मरण गरिन्छ ।
पूर्वराजा शाहले २०६१ साल माघ १९ गते आजैका दिन प्रतिनिधिसभा विघटन गरी तत्कालीन समयमा शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो नियन्त्रण लिएका थिए । शाह आफैंले नियुक्त गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेका थिए। दरबार हत्याकाण्डलगत्तै राजा बनेका ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए।
राजको कदमपछि नेपालमा जनयुद्दमा होमिएको माओवादी र अन्य दलबिच सहमती पछि भएको संयुक्त जनआन्दोलनको जगमा राजतन्त्र फालिएको थियो ।
जनताको आन्दोलनबाट राजतन्त्र अन्त्य भएर मुलुकमा गणतन्त्र स्थापना भयो तर जनताको समस्या भने उस्तै छ । व्यवस्था फेरिएपनि अवस्था परिवर्तन हुन नसकेको भन्दै नागरिकस्तरबाट आक्रोश बढिरहेको छ ।