रेडियो थाहाको वार्षिकोत्सवमा रुपचन्द्र विष्टको स्मरण
मकवानपुर । मकवानपुरको हेटौंडाबाट विन्दावासिनी मिडिया प्रा.लि.ले संचालन गरेको रेडियो थाहा सञ्चार १२ औँ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार बार्षिकोत्सव मनाइएको छ ।
बार्षिकोत्सव समारोहमा सहभागी बक्ताहरुले रेडियोले रुपचन्द्र विष्टको थाहा दर्शनलाई आत्मासाथ गर्दै अघि बढ्नु नै सराहनीय रहेको बताएका छन् । वि.स. २०६४ साल फागुन ७ गते हेटौँडाबाट नियमित प्रशारण गरेको रेडियो थाहा नामले नै मानिसलाई चेतना दिने सहभागीले बताएका हुन् ।
वार्षिकोत्सवका अवसरमा दुइ दशकदेखि नवदुर्गा साउण्ड सर्भिसमा आबद्द भइ व्यवसाय गर्दै आउएका अजयकुमार बानियाँलाई रेडियोले थाहा वर्ष सम्मान गरेको छ । मकवानपुरमा बानियालाई माइक दाइले भनेर पनि सम्बोधन गर्ने गरेका छन् ।
समारोहमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले रेडियोले समग्र क्षेत्रलाई समेटेर निष्पक्ष भई निरन्तर अघि बढ्न शुभकामना व्यक्त गरे । उनले सञ्चार माध्यमले नै समाजलाई परिवर्तनका लागि भूमिका खेल्ने बताएका छन् ।
कार्यक्रममा रेडियोका सञ्चालक अरुणराज सुमार्गीले पत्रकारको हकहितको लागि कोषको स्थापना गर्ने योजना रहेको उद्घोष गरे । उनले कोषमा सम्पूर्ण पत्रकारहरु आवद्द हुन सक्ने बताए । समारोहमा उद्योग संघ मकवानपुरका पूर्व अध्यक्ष नवराज अर्याल, पत्रकार महासंघ बाग्मती प्रदेशका महासचिव कृष्ण सारु मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण अग्रवाल,संघका महासचिव प्रमोदसिंह रानाभाट, क्रसर व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजाराम कार्की, ४ नम्बर वडा प्रहरी कार्यालयका प्रमुख इश्वरी भण्डारी लगायत, मकवानपुरमा पत्रकार लगायतको वार्षिकोत्सव समारोहमा उपस्थिती थियो । रेडियोको १३ औं वर्ष प्रवेशका अवसरमा रेडियोका स्टेशन म्यानेजर मणिराज गौतम र रेडियोका सञ्चालक सुमार्गीले संयुक्त रुपमा रेडियोका स्रोता, विज्ञापनदाता, सुभेच्छुक, शुभचिन्तक लगायत सबैमा आभार व्यक्त गरे ।
रेडियो स्थापनादेखि हालसम्म प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि रेडियोलाई निरन्तर साथ, सहयोग तथा हौसला प्रदान गर्नका लागि सरोकारवालालाई आग्रह गरेका हुन् ।