कोरोनाको सङ्क्रमण रोक्न अमेरिकाले बेलायत बाहेकका युरोपेली देशबाट हुने यात्रामा प्रतिबन्ध लगायो

लोकखबर
२९ फाल्गुन २०७६, बिहीबार १०:३१

मकवानपुर । अमेरिकाले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलनबाट रोक्न युरोपबाट अमेरिकामा गरिने सबै यात्रामा प्रतिबन्ध लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारदेखि ३० दिनसम्म लागु हुने गरी युरोप–अमेरिका यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । यो कडा र अत्यावश्यक प्रतिबन्ध बेलायतमा भने लागु नहुने राष्ट्रपति ट्रम्पले बताएका छन् ।

बेलायतमा चार सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने आठ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ३८ जनाको ज्यान गएको छ भने एक हजार तीन सय २२ जनामा सङ्क्रमण भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस विश्वभरको दुस्मन भएको भन्दै यसलाई चाँडो नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । नयाँ सङ्क्रमण रोक्नकै लागि युरोपसँगको यात्रामा प्रतिबन्ध लगाउनु परेको ट्रम्पले बताए ।

युरोपको इटली, फ्रान्स, स्पेन, जर्मनी, स्वीजरल्याण्ड, नर्वेलगायतका देशमा कोरोनाको सङ्क्रमण तीव्र बनेको छ ।

साथै भारतीय स्वास्थ्य मन्त्रालयले बुधबार एक महत्त्वपूर्ण बैठकमा कोरोना भाइरसको सङ्क्रमण रोक्नको लागि आउँदो १५ अप्रिलसम्म सबै भिसा निलम्बित गर्ने फैसला गरेको छ ।

स्वास्थ्य मन्त्री डा. हर्ष वर्धनको अध्यक्षतामा बसेको बैठकमा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन र बच्नका लागि विभिन्न उपायका बारेमा छलफल भएको थियो ।

बैठकमा १५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्र तथा अन्य अन्तर्राष्ट्रीय संस्थाहरु, एम्प्लयमेन्ट र प्रोजेक्ट भिसा बाहेक अरु सबै प्रकारको भिजा निलम्बित गर्ने फैसला गरेको हो ।

साथै ओसीआई कार्डधारकहरु (प्रवासी भारतीय नगरिकों) लाई दिइने भिसामुक्त यात्राको सुविधामा पनि १४ अप्रिल २०२० सम्म प्रतिबन्ध लगाइएको छ ।

यो प्रतिबन्ध सबै विमानस्थल र बन्दरगाहमा १३ मार्च २०२० को मध्यरातदेखि लागु हुनेछ ।

भारतमा अहिलेसम्म ६० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *