जोखिमपूर्ण आउजाउ बढेपछि भारतीय सीमामा सतर्कता
मकवानपुर ।कोरोना भाइरस (कोरोना भाइरस) सङ्क्रमणको रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक आवागमनमा कडाइ गरे पनि भारतसँग सीमा जोडिएका विभिन्न नाकाबाट जोखिमपूर्ण आउजाउ भइरहेको छ ।
भाइरसको सङ्क्रमणको जोखिम कम गर्न भारतले एक हप्ताअघि नेपालसँगका चार वटा ठूला नाका मात्र खुला गर्ने निर्णय गरे पनि अरु केही नाकाबाट पनि ओहोरदोहोर रोकिएको छैन ।
भारतबाट फर्कने नेपालीको भीड बढेपछि नाकामा स्वास्थ्य जाँच पनि प्रभावकारी हुन सकेको छैन । हेल्थ डेस्क राखिए पनि स्वास्थ्य जाँच नभएको पाइएको छ ।
कञ्चनपुरको गड्डाचौकी नाकाबाट एकै पटक तीन हजारभन्दा धेरै यात्रु आउने गरेका छन् ।
रूपन्देहीको बेलहिया–सुनौली नाकाबाट पनि हरेक दिन १५ हजारभन्दा धेरै नेपाली देश फर्किरहेका छन् । काम गर्न र पढाइका लागि भारत गएकाहरु धमाधम फर्किरहेका छन् ।
बाँकेको जमुनाह नाकामा नेपाल–भारत आउजाउमा स्थानीय प्रशासनले कडाइ गरेको छ । मजदुरी गर्न आउने भारतीयलाई रोक लगाइएको छ ।
कोरोनाको जोखिम बढेसँगै नाकामा सतर्कता बढाइएको छ । भारतसँगका नाकाबाट दिनहुँ हजारौँ यात्रु आइरहेकाले कोरोनाको सङ्क्रमणको जोखिम बढेको भन्दै ती नाका पनि बन्द गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
प्रदेश नम्बर १ ले भारतसँगका दुई वटा बाहेक अन्य नाका बन्द गर्न सङ्घीय सरकारलाई आग्रह गरेको छ । भीमदत्त नगरपालिकाले कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै पश्चिमी सीमा नाका गड्डाचौकीलाई केही दिन बन्द गर्न सङ्घ सरकारसित अनुरोध गरेको छ । उज्यालो अनलाईन डटकमबाट