लक डाउनको पीडामा मल्हम लगाउँदै मकवानपुरका यी मनकारी

  खाद्यान्न, पानीदेखि सवारी साधनसम्म सहयोग
लोकखबर
१६ चैत्र २०७६, आईतवार ०८:१६

मकवानपुर । विश्वव्यापी माहामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड) नाइन्टिन संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउँन गरेपछि अहिले नागरिक घरघरमा बसेका छन् ।

लकडाउनको अवधिमा नागरिकको स्वास्थ्यका लागि स्वास्थ्य कर्मी अस्पतालहरुमा खटिएका छन् भने प्रहरी प्रशासन लक डाउनको पूर्ण पालनाका लागि लागि परेका छन् ।

सरकार लक डाउन समय लम्ब्याउने छलफलमा समेत जुटिसकेको छ । यो विपद्को घडीमा मकवानपुरमा विभिन्न मनकारी दाताले सहयोग गरिरहेका छन् ।

लक डाउनको समयमा समस्या परेकालाई आफूले सकेको सहयोग गर्ने सामाजिक सन्जालबाट घोषणा गर्ने कार्य भइरहेका छन् ।
दैनिक ज्याला मजदुरीका भरमा परिवार चलाउँदै आएकाहरु लकडाउनमा काम गर्न नपाएपछि भोकै बस्ने अवस्थामा खाद्यान्न सहयोग देखि पिउने पानी तथा सवारी साधन सहयोग लगायतका सहयोगी कार्य मनकारी दाताबाट भइरहेको छ ।

हेटौंडा ८, कमानेका धर्मराज पुडासैनी तथा सलिना ढुंगेल दम्पतिले दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएकालाई खाद्यान्न सहयोग गरिरहेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ भित्रका त्यस्ता परिवारलाई खाद्यान्न गर्ने कार्य गरिएको सलिना ढुंगेलले बताइन् ।
ढुंगेल दम्पतिले सामाजिक सन्जाल फेशबुकमा आफूहरु विपद्को घडीमा खानाको अभावमा परेकालाई सहयोग गर्न तयार रहेको पोष्ट गरेका छन् । उनीहरुले फेशबुकमा लेखेका छन्, ‘ विश्वभर माहामारीको रुपमा फैलिएको ‘कोभिड १९’ को त्रासले हामी लकडाउनमा रहन बाध्य भएको छौ । यस्तो अवस्थामा थुप्रै यस्तो परिवारहरु हुनुहुन्छ । जसको विहान बेलुका खानाको लागि समस्या परिरहेको हुनसक्छ । त्यसैले हाम्रो हेटौंडा कमाने ८ नं वडाभित्र रहनु भएको निम्न परिवारहरुमा खाना (रासन,पानी) को अभाव छ भने हामी (श्रीमान्÷श्रीमती) हाम्रो व्यक्तिगत तर्फबाट सहयोग गर्न यो लकडाउनको अबधि भरि तयार रहेको जानकारी गराउद छौ । सम्पर्क नम्बर : ९८४५०२९६३५ (धर्म राज पुडासैनी/सलिना)’

धर्मराज र सलिना दम्पतिले शनिबार श्रमिक टोलका एक परिवारलाई खाना व्यवस्था गरे भने आइतबार पनि खाद्यान्न सहयोग गर्दैछन् । लक डाउन अवधिभर आफूहरु वडामा रहेका व्यक्ती खानाको अभावमा तड्पिनु नपरोस् भनेर सहयोग कार्यमा लागि परेको बताउँछन् ।

केदार चौलागाईं गाडी सहयोग गर्दै ।

यो विपद्को घडीमा सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाईंले अर्को मनकारी काम गरेका छन् । उनले कोरोना भाइरसको रोकथाम तथा अनुगमनका लागि आफ्नो निजी सवारीसाधन हेटौंडा उपमहानगरपालिका वडा १५ नम्बर वडालाई दिएका छन् ।

कोरोना नियन्त्रणका लागि सरकारले आव्हान गरेको लक डाउनको समयभर सवारीसाधन वडा कार्यालयले प्रयोग गर्न पाउने गरी चौलागाईले वडा अध्यक्ष महारत्न लामालाई साँचो बुझाएका हुन् । हेटौंडा–६ निवासी चौलागाईले आफुले प्रयोग गर्दै आएको बा.१३ च १०२३ नम्बरको टाटासुमो वडा कार्याललाई दिएका हुन् ।

चौलागाईंले यसअघि मकवानपुरका विभिन्न स्थानमा माक्स, डिटोल तथा साबुन निःशुल्क वितरण गरेका थिए ।

यस्तै, सामाजिक अभियन्ता एवं व्यवसायी ध्रुव अधिकारी पनि कोभिड १९ को विपदको घडीमा सहयोगी बनेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ स्थित नेचुरल वेभरेजका सञ्चालक अधिकारीले कोरोना भाईरसको शंकास्पद विरामीको लागि हेटौंडामा रहने क्वारेन्टाईनको लागि आवश्यक शुद्द खानेपानी (अमृत जल) निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

उनले कर्रामा निर्माण भइरहेको वाइसोलेसन वार्डका लागि खानेपानी उपलब्ध गराएका छन् । यस्तै,हेटौंडाका प्रहरी तथा ट्राफीकका लागि खानेपानी सहयोग गरेका छन् । लक डाउनको अवधिमा सडकमा आपतमा भेटिएका यात्रुलाई पानी, चाउचाउ, विस्कुट लगायत खानेकुरा सहयोग गरेका छन् । व्यवसायीको धर्म विपद्का बेलामा सहयोगी बन्नु पनि हो भन्ने आफ्नो बुझाइ भएकाले सोही अनुसार सहयोगी कार्यमा आफू लागिपरेको अधिकारी बताउँछन् ।

खानेपानी उपलब्ध गराउने कार्यमा ध्रुव अधिकारी ।

यसका साथै, आवश्यक क्वाइरेन्टाइन निर्माणका लागि शैक्षिक संस्था, होटल उपलब्ध गराउने प्रतिबद्दता पनि अन्य व्यवसायीले गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*