नेपालमा संक्रमितको संख्या ६८२ पुग्यो, ४ जनाको मृत्यु

मकवानपुर । नेपालमा सोमबार साँझसम्म कोरोना संक्रमितको संख्या संख्या ६८२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका छन् ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले हालसम्म १ सय १२ जनाको डिस्चार्ज भएको पनि जानकारी दिए । उनले पछिल्लो पटक नारायणी अस्पतालबाट १८ जना, पाटन अस्पतालबाट धनुषा, काठमाडौं, धादिङ, दाङ र वर्दियाका एक(एक जना पनि डिस्चार्ज भएका छन् । यस्तै टेकु अस्पतालमा रहेका सर्लाहीका ३४ वर्षीया पुरुष पनि डिस्चार्ज भएका छन् ।
डाक्टर देवकोटाले नेपालमा कोरोना संक्रमित चौथो व्यक्तिको मृत्यु भएको पनि पुष्टि गरेका छन् । प्रवक्ता डा देवकोटाले वीरगञ्जको नेसनल मेडिकल कलेजमा गत जेठ ४ गते मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जनाए ।
प्रवक्ता डा देवकोटाका अनुसार नेसनल मेडिकल कलेजमा ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग भएका बिरामी थिए । उनलाई ट्युवर क्लोसिस भएको पनि डा देवकोटाले बताए ।
श्वासप्रश्वासमा समस्या भएर जेठ २ गते अस्पताल भर्ना भएका उनको स्वाब कलेक्सन भएको थियो । उनको नारायाणी अस्पतालमा नमूना शंकास्पद भएपछि उनको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनको जेठ ४ गते नै मृत्यु भएको थियो । डा. देवकोटाले उनको सम्पर्कमा आएका व्यक्तिहरुको जेठ ५ गते नै कोरोना परीक्षण शुरु गरिएको बताए ।