कर्णाली विवादमा नेकपाका दुई अध्यक्षबीच मतभिन्नता

लोकखबर
२०७७ कार्तिक ४, मंगलवार १३:३०

मकवानपुर । कर्णाली प्रदेशको समस्या समाधान गर्ने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मत बाझिएको छ ।

पार्टी अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच मङ्गलबार भेटवार्ता भएको थियो । कुराकानीका क्रममा प्रचण्डले कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने जिम्मा त्यहीँको पार्टी कमिटी र सरकारलाई दिऊँ भनेर प्रस्ताव गरेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जुगलले जानकारी दिए ।
“कर्णालीको समस्या त्यहाँको पार्टी र सरकारले नै हेरोस् मिलेर समाधान गरोस् भनेर अध्यक्ष प्रचण्डले कुराकानी गर्नुभएको छ,” उनले भने ।

तर, प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव, मुख्य सचेतक हटाउने र अर्को नियुक्त गर्ने दुवै कदम फिर्ता लिन लगाउनुपर्ने मत राखेका थिए ।

“मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव अहिले स्थगन छ, त्यसलाई फिर्ता गर्ने, मुख्यमन्त्रीले बदलाको भावका साथ गरेको प्रमुख सचेतक हटाउने, नियुक्त गर्ने यी कुराहरूचाहिँ उनले पूर्ववत् अवस्थामा (फिर्ता) लैजाने र अरू कुरा सरसल्लाहमा गर्ने कुराकानी भएको हो,” प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

“दुईजना अध्यक्षले आ–आफ्नो कुराकानी राख्नुभयो । समझदारी जुटिसकेको छैन,” सापकोटाले भने ।

गत असोज २५ गते पार्टी संसदीय दलका १८ सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दुवै पक्षलाई पार्टी मुख्यालय झिकाएका थिए । अध्यक्षद्वयको बोलावटपछि मुख्यमन्त्री शाही, अविश्वासको प्रस्ताव ल्याउन अगुवाइ गरेका प्रदेशका पार्टी सहइन्चार्ज यामलाल कँडेल, निलम्बित सचेतक गुलाबजङ्‍ग शाहसहित त्यहाँको पार्टी नेतृत्व २९ गते काठमाडौं आएको थियो ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको