वर्षातले जनजीवन प्रभावित
बिदुर– नुवाकोटमा असिनापानीसहित भाइटीकाकै दिन वुधवार वर्षात् भएको छ । कतै असिना, कतै मुसलधारे वर्षा भएको हो । वर्षातले भाइटीका लगाउन हिडेकाहरु प्रभावित भए । नुवाकोटका विभिन्न स्थानमा असिनापानीसहित चट्याङसमेत परेको हो ।

नुवाकोट, रसुवासहित विभिन्न स्थानमा वुधवार असिनापानी परेको हो । वेमौसमी वर्षातले आमसर्वसाधारण प्रभावित भएका छन् । भाइटीका लगाउने र टीका थाप्न जाने तयारीमा रहेका सर्वसाधारणलाई वर्षाले प्रभावित बनाएको थियो । वर्षासँगै परेको असिनाले नुवाकोटको मौसम चिसिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

विभागले बुधबार दिउँसो बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको थियो । तर, नुवाकोटका अधिकांश स्थानमा ठुलो पानी परेको स्थानीयवासी वताउंछन् । बेमौसमी वर्षात्ले काट्न ठिक भएको र काटिएको धान बालीलाई असर गरेपनि तरकारी बालीलाई फाइदा पुगेको छ । एक्कासी मेघगर्जन, चट्याङसहित असिनापानी पर्दा सर्वसाधारण आवतजावतमा प्रभावित भएका थिए ।
















































