आज महानवमी मनाइँदै
मकवानपुर । बडादशैंको नवौं दिन आज देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजा आराधना गरी महानवमी मनाइँदै छ ।
कोरोनाका कारण देशका विशेष सुरक्षा सतर्कता अपनाउँदै यो पटक दशैं मनाउँन सरकारले आग्रह गरेको छ ।
नवरात्रको पहिलो दिन घटस्थापनामा आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठहरूमा लगेर चढाउने गरिन्छ ।
दशैंघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवी स्तोत्र पाठ गरिन्छ ।
शाकाहारीहरूले कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल तथा पायस चढाउने प्रचलन छ ।
पूराण अनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।











































