मनहरी गाउँपालिकामा यस्तो नौटंकी, मिडियालाई झुट बोल्ने को ?
मकवानपुर । कहीँ नभएको जात्रा हाडीगाउँमा भन्ने उखान हामीले सुनेकै हो । कहीँ नभएको नौंटकी मकवानपुरको मनहरी गाउँपालिकामा देखा परेको छ ।
गाउँपालिका उपाध्यक्ष मनिला विष्टले आफूले दिदैं नदिएको राजिनामा अध्यक्षले कसरी स्वीकृत गर्ने भन्दै प्रश्न गर्छिन् भने अध्यक्ष एकराज उप्रेती उपाध्यक्ष विष्टले राजिनामा दिएको कुरा साँचो हो भन्दै आफूले स्वीकृत गरिदिएको बताउँछन् । दिदै नदिएको भनिएको राजिनामा कसरी स्वीकृत भयो भन्ने उपाध्यक्ष विष्टको प्रश्न छ भने अध्यक्ष उप्रेती गत मंशिर २९ गते नै उपाध्यक्षले राजिनामा दिएकाले अस्ति शुक्रबारको बैठकमा राजिनामा स्वीकृत गरिदिएको बताउँछन् ।
खास यी दुई बिचको वास्तविकता के हो ? अध्यक्ष उप्रेती मंसीर २९ गते गाउँपालिका उपाध्यक्ष बिष्टले स्वेच्छाले दिएको राजिनामा आफूले स्वीकृत गरिदिएको बताउँने उपाध्यक्ष राजिनामा दिएकै छैन भन्ने यो विषयमा किन कुरा बाझियो भन्ने चासो छ ।
उपाध्यक्ष बिष्टले राजिनामा दिएको खबर केही समय अघि राष्ट्रिय तथा स्थानीय सन्चारमाध्यममा खबर आएका थिए । त्यो बेला मिडियाले उपाध्यक्ष विष्टसंग बुझ्दा आफूले राजिनामा नदिएको प्रष्ट पारेकि थिइन् । त्यतिमात्र होइन पुस १ गते बसेको कार्यपालिका बैठकले सन्चारमाध्यममा उपाध्यक्ष विष्टले राजिनामा दिएको भन्ने कुरा गलत रहेको भन्दै सन्चारमाध्यममा आएका समाचारबारे खेद व्यक्त नै गरिएको थियो । सो दिन बसेको बैठकको माइन्युटमा लेखिएको छ–‘यस गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले आफ्नो पदबाट राजीनामा दिएको भन्ने बिषयसँग जोडेर भ्रामक र कपोलकल्पित बिषयहरु समेटेर फेसबुक, पत्रपत्रिका, अनलाइन सञ्चार माध्यमहरुमा आएका खबरको बारेमा कार्यपालिका बैठकमा गम्भिर ध्यानाकर्षण र छलफल भयो । पुष्टयाइँ बिना सत्य तथ्य नबुझी अनावश्यक भ्रमपूर्ण, कपोलकल्पित आरोपका समाचार आउनु दुखद् र भत्र्सनायोग्य र खेदपूर्ण भएको । मिडियाकर्मीहरुले समाचार प्रकाशन÷प्रसारण गर्दा आधिकारिक रुपमा बुझी प्रकाश/प्रसारण गर्नु हुन बैठक हार्दिक आग्रह गर्दछ ।’

उपाध्यक्ष मनिला विष्टले राजिनामा नदिएको बारे पुष १ गतेको गाउँ कार्यपालिकाको निर्णय
कार्यपालिकाको निर्णयले पनि मंशिर २९ गते दिइएको भनिएको राजीनामासम्बन्धी हल्लालाई खारेज गरेको छ । त्यससँगै गाउँपालिकाले निकालेको विज्ञप्तीले पनि कार्यपालिकाको बैठकको निर्णयलाई सार्बजनिक गरी भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरिएको थियो । यसरी राजिनामा नआएको झुटो समाचार दिने सन्चारमाध्यमलाई खेद जनाउने निर्णय नै गराउने अध्यक्षले फेरि राजिनामा स्वीकृत गरिदिएको बताएका छन् ।
शुक्रबार स्वीकृत भएको भनिएको राजीनामाबारे आज (आइतबार) मात्रै समाचार सार्वजनिक भएका छन् । आज (आइतबार) कार्यालय समयमा उपाध्यक्ष मनिला बिष्टले फेसबुकमा गाउँपालिका अध्यक्षका छोरा विकास उप्रेती र कर्मचारी डिल्लीराम रेग्मीले शुक्रबार साँझ राजीनामा स्वीकृत भएको पत्र दर्ता गराएको सुनेको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।
अध्यक्ष उप्रेती र विष्ट एउटै पार्टी नेकपाबाट निर्वाचित जनप्रतिनिधी भएपनि विगत केही समयअघि देखि आपसमा विवाद हुने गरेको बताइन्छ ।
पूर्व नेकपा एमाले पृष्ठभूमी भएका अध्यक्ष उप्रेती र उपाध्यक्ष बिष्ट तथा कर्मचारीहरुबीच समन्वय अभाव भएकाले पटक पटक विवाद हुने गरेको र त्यसै क्रममा उपाध्यक्षले राजीनामा दिएका समाचारहरु सञ्चारमाध्यमहरुमा प्रकाशित भएका थिए । विगतमा राजिनामा आएको भन्ने सन्चारमाध्यमको खबर झुट भन्दै उल्टो खेद व्यक्त गर्ने अध्यक्ष उप्रेतीले अहिले मिडियालाई राजिनामा आएको हो मैले स्वीकृत गरिदिए भन्दै मिडियालाई पंगु बनाउँने काम गरेका छन् ।
अध्यक्ष विष्ट र उप्रेती विष्ट एमाले पृष्ठभूमीबाट निर्वाचित भएपनि अहिले नेकपा विभाजन भएको अवस्थामा अध्यक्ष उप्रेतीले पूर्वाग्रह राखेर आफ्नै निर्णय विरुद्द लागेको उपाध्यक्ष विष्टले आरोप लगाएकी छिन् । पार्टी विभाजनसंगै ओली पक्षमा लागेका उप्रेतीले २० दिनपछि राजीनामा स्वीकृत भएको खबर सार्वजनिक हुनुलाई फुटकै असरको रुपमा लिइएको छ । उपाध्यक्ष विष्ट पार्टी फुटपछि हालसम्म कुनै पनि गुटमा नखुलेको बताइन्छ ।

गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्ति











































