नेकपाको बोर्ड हट्यो, एमाले लेखिएको बोर्ड राखियो
मकवानपुर । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामबारेको आधिकारिकतामा फैसला सुनाएको भोलिपल्ट मकवानपुरस्थित साविक एमाले पार्टी कार्यालयमा ओली पक्षले लगाएको तालाबन्दी आफैं खुलाए नेकपा एमालेको बोर्ड हालिएको छ ।
ओली र प्रचन्ड–माधव पक्षले आधिकारिक पार्टीको आफू भएको भन्नेमा दाबी गरेपछि ओली पक्षका नेता कार्यकर्ताले गत पुष २५ गते लगाएको ताला आज उनीहरुले नै खोलेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को बोर्ड हटाउँदै नेकपा (एमाले) लेखिएको बोर्ड राखेका हुन् ।
सर्वोच्चको फैसलापछि एमाले र माओवादी ब्युतिएकाले तत्कालीन एमाले पार्टी कार्यालयमा तत्कालीन माओवादीको हकदाबी नलाग्ने भन्दै आज ताला खोलेर पार्टीको गतिविधी सुरु गरिएको ओली पक्षका नेकपा अध्यक्ष एकालाल श्रेष्ठले बताए । पार्टीमा कार्यालय सदस्य रहेका श्रेष्ठ पुष ५ गतेपछि प्रतिनिधीसभा विघठनसंगै ओली पक्षको नेकपा मकवानपुर नेता घोषणा भएका थिए । अदालतले एमाले ब्युताइदिएपछि पार्टी कार्यालय खुलेको दिन आजै उनले अध्यक्षको सपथग्रहण गरे । तत्कालीन एमाले अध्यक्ष एवम् एकीकरणपछि नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल प्रचन्ड–माधव समूहमा रहेकाले उनलाई कारवाही गर्दै आफू आधिकारिक अध्यक्ष भएकाले अध्यक्षको सपथग्रहण गरेको श्रेष्ठको भनाई छ । ‘ उहाँ त माओवादीमा जानुभयो, हाम्रो पार्टी एमाले हो । उहाँलाई हामीलाई कारवाही गरेपछि एमाले अध्यक्ष पनि मै हुँ । ’ श्रेष्ठले भने । तत्कालीन एमालेमा अधिवेशनबाट अध्यक्ष बनेकी सिग्देल अहिले पार्टीको सदस्य मात्र रहेको उनले बताए ।
अदालतले ब्युताएको पार्टीलाई चलाएमान बनाउँन आफैंले लगाएको पार्टी कार्यालयको ताला खोलिएको बताउँदै उनले अब दैनिक पार्टी गतिविधी सन्चालनमा आफूहरुलाई कुनै समस्या नरहेको श्रेष्ठले बताए । पार्टी खुलाउन ओली पक्षका केन्द्रिय स्तरका नेताहरु केन्द्रिय सदस्य रामेश्वर राना, अनन्त पौडेल, मधुसुदन खतिवडा लगायतको उपस्थिती थियो ।
ओली पक्षका नेता–कार्यकर्ताले माओवादी केन्द्रसंगको एकता औपचारिक रुपमा टुंगिई साविककै एमाले पार्टी कायम भएको भन्दै हिजो साँझ हेटौंडामा दीपावली गर्दै लड्डु समेत खाएका थिए ।












































