प्रधानमन्त्री ओलीविरुद्धको अवहेलना मुद्दाको पेशी तोकिए पनि सुनुवाई भएन
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओली र चार जना पूर्वप्रधानन्यायाधीशविरुद्धको अवहेलना मुद्दामा शुक्रबार पेशी तोकिए पनि सुनुवाई भने हुन सकेन।
इजलासले उक्त मुद्दा हेर्न नभ्याइने भन्दै सुनुवाई नगरेको हो।
सर्वोच्च अदालतले शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकेको थियो।
प्रधानमन्त्री ओलीविरुद्ध माघ १३ गते अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले मुद्दा दायर गरेका थिए।
चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अधिवक्ता राजाराम घिमिरेले मुद्दा दायर गरेका थिए। यसअघि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ओलीसहित पूर्वप्रधानन्यायाधीशलाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।
आदेश अनुसार नै प्रधानमन्त्री ओली र चार पूर्व प्रधानन्यायाधीशले लिखित जवाफ पेश गरेका थिए। जवाफका क्रममा सबैले अदालतको अवहेलना नगरेको दाबी गरेका छन्।।
संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेका बेला उक्त मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका थिए।
पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पनि सोही समयमा संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटनको विपक्षमा अभिव्यक्ति दिएका थिए। अदालतले फागुन ११ गते संसद विघटनको मुद्दाको फैसला गरिसकेको छ।नेपालखबर डटकमबाट











































