उपाध्यक्ष नेम्बाङमाथि छानबिन गर्न फुटबल प्रशिक्षक अलमुताइरीद्वारा एन्फामा निवेदन

लोकखबर
२०७८ श्रावण १४, बिहीबार १५:०६

मकवानपुर । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छानबिनको माग गर्दै अखिल नेपाल फुटबल संघ ९एन्फा० मा बिहीबार पत्र बुझाएका छन्।
मुख्य प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित एक खेलकुद अनलाइनका दुई सञ्चारकर्मीका विषयमा छानबिन गर्न पत्र दर्ता गराएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।
शुक्रबार आफूसँग दुई सञ्चारकर्मीबीच भएको विवादमा वरिष्ठ उपाध्यक्ष नेम्बाङको भूमिका रहेको अलमुताइरीले आरोप लगाउँदै आएको बताइएको छ।
अलमुताइरीले आइतबार सामाजिक सञ्जालमा समर्थकलाई सम्बोधन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङका कारण आफूले राजीनामा दिन लागेको घोषणा गरेका थिए। यद्दपी उनले लिखित राजीनामा भने आजसम्म दिएका छैनन्। अलमुताइरीले आइतबारदेखि प्रशिक्षण गरेका छैनन्।
नेम्बाङले भने एन्फाको आउने निर्वाचनलाई प्रभावित गर्नेगरि आफूमाथि आरोप लगाएको बताउँदै आएका छन्। अलमुताइरीको आरोपका सत्यता नभएको उल्लेख गर्दै छानबिनका लागि एन्फा केन्द्रीय समितिको बैठक माग गरेका छन्।
एन्फाले यही विषयमा छलफल गर्न शुक्रबारका लागि केन्द्रीय समितिको आपतकालीन बैठक बोलाएको छ। अलमुताइरीले आफूविरुद्ध नेम्बाङले भूमिका खेलको आफूसँग प्रमाण रहेको बताउँदै आएको बुझिएको छ।
उता नेम्बाङले भने आफूले सञ्चारकर्मीलाई प्रयोग गरेको प्रमाणित भए पदबाट राजीनामा घोषणा गर्ने सञ्चारकर्मीलाई यसअघि नै बताइसकेका छन्।
कतार फुटबल संघको सहयोगमा अलमुताइरी चैतमा राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएका थिए। अहिले राष्ट्रिय टोली साफ च्याम्पियनसिपको तयारीमा रहेको छ।नेपालखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको