मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४१ जना
मकवानपुर । मकवानपुरमा कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ सय ४१ जना रहेका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएका छैन । तर मकवानपुरमा कोरोना संक्रमित हुनेको संख्या भने घटेको छैन । जिल्लामा हालसम्म १२ हजार ८ सय २९ जनामा कोरोना संक्रमण भएको छ ।
कार्यालयका अनुसार मकवानपुरमा बिहिबार ९९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार १ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा ९१ जनामा र ५१ जनाको एन्टीजन परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको पाइएको हो ।
विहीबार हेटौंडा उपमहानगरपालिकाका ७४ जना, थाहा नगरपालिकाका १० जना, मनहरी गाउँपालिकाका ८ जना, बकैया गाउँपालिकाका ३ जना, भीमफेदी गाउँपालिकाका २ जना, बागमती र मकवानपुरगढी गाउँपालिकाका १/१ जनालाई कोरोना भएको हो ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका भने यो संगै जिल्लामा हालसम्म १२ हजार ३७ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार मकवानपुरमा हाल ६ सय ६ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ५ सय ५४ जना होमआइसोलेशनमा र ५२ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।











































