घटस्थापनाको दिन ‘हेटौंडा रन हुने’
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा यही असोज २१ गते घटस्थापनाको दिन ‘हेटौंडा रन २०७८’ को तयारी गरिएको छ ।
प्रतियोगिता बारे जानकारी दिन आज आइतबार पत्रकार सम्मेलनमा खेलका आयोजक हेटौंडा खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले खेल क्षेत्रको विकासका लागि आफूहरु ‘हेटौंडा रन २०७८’ नामक प्रतियोगिताको तयारीमा रहेको जानकारी दिए । ‘ खेल क्षेत्रलाई अगाडी बढाउँन यस्ता प्रतियोगिताको भूमिका हुन्छ भन्ने ठानेका छौं । ’ अध्यक्ष शाहीले भने, ‘खेलले मानिसको स्वास्थ्यलाई राम्रो बनाउँछ भने खेलक्षेत्रको विकासका लागि पनि यस्ता प्रतियोगितबाट पनि सघाउ पुर्याउँन सकिन्छ भन्ने लागेरै हामीले हेटौंडा रन आयोजना गर्दैछौं’ । अध्यक्ष शाहीका अनुसार प्रतियोगिता सम्पन्न गर्नका लागि दुई लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, खेलकुद विकास समिति तथा हेटौंडा उप महानगरपालिकाको सहयोगमा दशैको अवसरमा आयोजित प्रतियोगितामा प्रथम हुनेले मेडल, प्रमाणपत्र सहित १५ हजार रुपैयाँ प्राप्त गर्ने छ भने द्वितीय हुनेले मेडल, प्रमाणपत्र सहित १० हजार र तृतीय हुनेले मेडल, प्रमाणपत्र सहित ७ हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।
प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाभित्र रहेका क्लब, संघसंस्था र हेटौंडा उपमहानगरपालिकाभित्रका बासिन्दाहरुले मात्र भाग लिने पाउँने अध्यक्ष शाहीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी हुन चाहनेले यही असोज २० गतेसम्म कार्यालयमा फारम बुझाउनुपर्ने छ ।
पत्रकार सम्मेलनमा हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख मीनाकुमारी लामाले हेटौंडा उप महानगरपालिकालाई खेल क्षेत्रमा नेपालका सबै नगरपालिका मध्ये उत्कृष्ट बनाउन यस्ता खेल प्रतिष्पर्धाले मद्दत पुग्ने बताइन् ।











































