कर्मचारी दुर्व्यवहारविरुद्ध हेटौंडामा प्रदर्शन, कारबाहीको माग गर्दै सरकारलाई बुझायो ज्ञापनपत्र
मकवानपुर । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त आयोजना प्रमुख राजेश कुशवाहा माथि भएको कुटपिट तथा दुर्व्यवहारको विरोध गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा पनि विरोध प्रदर्शन गरेका छन् ।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बागमती प्रदेश र नेपाल इन्जिनियर्स एसोशेसन बागमती प्रदेशले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । कुशवाहा माथी भएको नृशंस र अक्षम्य अपराधिक कुकर्मको विरुद्धमा हातमा कालो पट्टी र ब्यानर सहित हेटौंडास्थित आन्तरीक मामिला तथा कानुन मन्त्रलाय बागमती प्रदेशको अगाडी प्रर्दशन गरिएको सिडेन बागमती प्रदेशका सचिव विक्रम खतिवडाले बताए ।
उनीहरूले इन्जिनियर कुशवाहामाथि अभद्र व्यवहार गर्न आदेश दिने सिके राउत तथा उनका कार्यकर्ताहरू माथि कडाभन्दा कडा कारबाहीको माग सहित आन्तरीक मामिला तथा कानुन मन्त्रलाय बागमती प्रदेश र जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । घटना निक्कै पीडादायक भएको र कार्यालयमा बसेर ढुक्कसँग काम गर्ने वातावरण समेत नरहेको भन्दै दोषी माथि हदैसम्मको कारबाही गरिनु पर्नै उनीहरुको माग छ।
जनमत पार्टीका नेता कार्यकर्ताले सङ्घीय खानेपानी तथा ढल निकास आयोजनाका निमित्त प्रमुख कुहवाहालाई कार्यालयबाट निकालेर कुटपिट गर्दै अर्धनग्न पारेर नालाको हिलो दली नगर परिक्रमा गराएका थिए ।











































