बागमतीमा शाक्यले विश्वासको मत लिँदै, एस पाण्डे मुख्यमन्त्री बन्ने, सम्भव भए आजै सदस्यीय मन्त्रीमनण्डल विस्तार हुने
मकवानपुर । बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिदैछिन् । एकल बहुमतका आधारमा मुख्यमन्त्री नियुक्त भएकी शाक्य आबद्द पार्टी एमालेबाट विभाजन भई एकीकृत समाजवादीमा १३ जना प्रदेश सांसदले सनाखत गरेपछि उनी अल्पमतमा परेकी हुन् । अहिले शाक्यसलाई एमालेका ४३ जना सांसदको समर्थन रहेकाले उनले विश्वासको मत नपाउने देखिएको छ । आज बुधबार दिउशो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने तयारी भएको छ ।
प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठकमा मुख्यमन्त्री बनेको दुई महिनापछि शाक्यले आज विश्वासको मत लिने तयारी गरेकी हुन् । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार विश्वासको मत लिनका लागि आवश्यक पर्ने सबै तयारी पूरा गरिएको छ । ‘विश्वासको मत लिने कार्यका लागि सत्तापक्ष र प्रतिपक्षहरुलाई छुट्टाछुट्टै मतदान कक्षको व्यवस्था मिलाइएको छ । यसका लागि आवश्यक अधिकृतसहितको कर्मचारी पनि खटाइएको छ । ’ सचिव खड्काले भने ।
गत असोज २४ गतेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेकी थिइन् । सो प्रस्तावमाथि प्रदेशसभाको गत कात्तिक ४ गते बसेको बैठकमा प्रदेशसभाका सदस्यहरूसँग आफ्नो पक्षमा विश्वासको मत दिन मुख्यमन्त्री शाक्यले आग्रह गरेकी थिइन् । तर शाक्यलाई प्रदेशसभामा गठबन्धमा रहेका दलहरू नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत नदिई आफ्नै सहभागितामा सरकार बनाउने तयारी गरिसकेका छन् । बरु उनीहरुले मुख्यमन्त्री शाक्यलाई उल्टै राजिनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गरेका छन् ।
दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि २०७८ प्रदेश सभाबाट पारित भएपछि मतदान प्रकृया अगाडि बढाइने प्रदेशसभा सचिवालयले जनाएको छ ।
बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । नेकपा एमाले विभाजनपछि १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् ।
यस्तै, प्रमुख प्रतिपक्ष नेकपा माओवादीका २३, अर्को प्रतिपक्ष नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको ३, नेपाल किसान मजदुर पार्टी ९नेमकिपा० का २ जना, राप्रपाका २ र जनता समाजवादी पार्टी ९जसपा० को १ जना प्रदेशसभा सदस्यहरु रहेका छन् ।
गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउँने तयारी गरेको छ । प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमती यसअघि भइसकेको छ । पाण्डेपछि कांग्रेसका इन्द्रबहादुर बानिया मुख्यमन्त्री बन्ने सहमती बनेको हो । पाण्डे मुख्यमन्त्री बनेसंगै सम्भव भए आजै चार सदस्यीय मन्त्रीमन्डल गठन गर्ने गठबन्धनको तयारी रहेको बताइएको छ ।











































