मकवानपुरको वडा वडामा पुग्दै एकीकृत समाजवादी
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) मकवानपुर पार्टी निर्माण अभियानका लागि जिल्लाको वडा वडामा पुगेको छ ।
जिल्लाको विभिन्न पालिकाका वडामा पुगेर पार्टीको वडा कमिटि तथा विभिन्न संगठन निर्माण कार्य अहिले भइरहेको छ । हेटौंडाको ७, ९ र १५ नम्बर वडामा आज पार्टी वडा कमिटि, युवासंघ, अनेमसंघ गठन गरिएका छन् । हेटौंडाको ७ नम्बरमा आयोजित कार्यक्रममा पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलको अध्यक्षता तथा युवासंघको केन्द्रिय सचिवालय सदस्य कविन पन्तको विशेष अतिथ्यतामा भेला भएको हो ।
यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा आयोजित भेलामा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री, एवं एकीकृत समाजवादीका पोलिष्टब्युरो सदस्य, चितवन जिल्ला इन्चार्ज कृष्णप्रसाद शर्मा खनालको प्रमुख आतिथ्यता थियो । भेलामा पार्टीका केन्द्रिय सदस्य मुनु सिग्देल, पार्टी मकवानपुर अध्यक्ष श्रीधर पोख्रेल रहेका थिए । भेलाले सूर्यबहादुर स्याङतानको अध्यक्षतामा २१ सदस्यीय पार्टी वडा कमिटी गठन गरेको छ । यस्तै, विनय अधिकारीको अध्यक्षतामा २१ सदस्यीय युवासंघको वडा कमिटी र लक्ष्मी फुयालको अध्यक्षतामा २१ सदस्यीय अनेमसंघको वडा कमिटी गठन गरेको छ ।
यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा भएको भेलाले दिपेश थिङको अध्यक्षतामा ३५ सदस्यीय पार्टी वडा कमिटी, सोन लोको अध्यक्षतामा २१ सदस्यीय युवासंघको वडा कमिटी गठन गरेको एकीकृत समाजवादी मकवानपुरले जनाएको छ । कार्यक्रममा उत्साहजनक रुपमा सहभागिता रहेको बताइएको छ ।











































