राष्ट्रपति भण्डारी लुम्बिनीमा
सिद्धार्थनगर । राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी पुगेकी छन् । बुद्धजन्मस्थल लुम्बिनीमा उनले बज्रयान विहारको अवलोकन, मायादेवीमा पूजा तथा लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिन लुम्बिनी पुगेकी हुन् ।
कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसमेत सहभागी छन् ।
शनिबार नै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री अजयक्रान्ति शाक्य, सांसद नवराज सिलवाल, सूर्य पाठक, काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की, विभिन्न मन्त्रालयका सचिव लुम्बिनीमा आइपुगेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए ।
उनका अनुसार लुम्बिनीको कार्यक्रम सकिएपछि राष्ट्रपतिद्वारा आज नै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइट जेड बुद्धमूर्तिको अनावरण गर्ने कार्यक्रम छ । सो बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनको पहलमा बर्माबाट ल्याइएको हो । फाउण्डेशनको निमन्त्रणामा स्पेनको एक्सत्रेमादुरा प्रदेशका सभामुख बेलानका मार्टिन डेलगाडो, संस्कृतिमन्त्री नुरिया फलोरेश रेडोन्डोसहित प्रतिनिधिमण्डल पनि लुम्बिनीमा आइपुगेका छन् ।











































