महाकवि देवकोटाको एक सय १३औँ जन्मजयन्ती मनाईंदै
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १३ औँ जन्मजयन्ती । स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।नेपाली साहित्यमा सयभन्दा धेरै कृतिको योगदान गरेका देवकोटाले दश वर्षको उमेरदेखि कविता लेख्न सुरु गरेका थिए । देवकोटाका महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन् ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोेटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्मकै सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । महाकवि देवकोटाको जन्म वि.सं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो ।
०१६ सालमा शिक्षा तथा स्वायत्तमन्त्री शासनमन्त्री भएका देवकोटाले नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए । डो केआई सिंह नेतृत्वको सरकारमा शिक्षा मन्त्री बन्दा देवकोटाले वर्तमानको त्रिभुवन विश्वविद्यालय स्थापना र भवन निर्माणका लागि कीर्तिपुरमा जग्गाको व्यवस्था मिलाएका थिए ।











































