भरानले ‘म्यानचेस्टर डर्वी’ गुमाउने
फ्रान्सेली सेन्टरब्याक राफायल भरानले इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर डर्वी गुमाउने भएका छन् । च्याम्पियन्स लिगमा इटालियन क्लब एटलान्टासँग २–२ गोलको बराबरी खेलेको खेलमा भरानले चोट बोक्न पुगेका थिए ।
ह्यामस्ट्रिङ चोट बोकेका भरानले म्यानचेस्टर डर्वीको खेल गुमाउने भएसँगै प्रशिक्षक ओले गनर सोल्सायरलाई दवाव थपिएको छ । क्लब स्रोतका अनुसार क्लबका डाक्टरले भरान कम्तीमा पनि एक महिना मैदान बाहिर रहने बताएका छन् ।
यसको अर्थ भरानले म्यानचेस्टर डर्वीसँगै वाट्फोर्ड, भिल्लारियल र चेल्सीविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय ब्रेकमा फ्रान्सबाट विश्वकप छनोटका खेल गुमाउने सम्भावना छ । उनी डिसेम्वरको सुरुवातमा मात्रै खेलमा फर्कने आशा गरिएको छ । रिकभरीको समय रहँदा उनले आर्सनल र योङ ब्वाइजविरुद्धको च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेल पनि गुमाउने सम्भावना रहेको छ ।
एटलान्टासँगको खेलपछि प्रशिक्षक ओले गनर सोल्सायरले भरानलाई चोटले समस्यामा परेको बताएका थिए । ‘उनले चोट बोक्न पुगे । हामीले उनलाई गुमायौं तर, यो फुटबल हो,’ सोल्सायरले भने ।
चोटकै कारण केही खेल मैदानबाहिर रहेका भरानले टोटेनहम हट्स्परमाथि जित निकालेको खेलबाट पूनरागमन गरेका थिए । अब उनको स्थानमा प्रशिक्षक सोल्सायरले एरिक बेली, भिक्टर लिन्डेलफ, लुका सा र एलेक्स टेलेसमध्येबाट एकलाई प्रयोग गर्ने सम्भावना छ । एजेन्सी











































