कांग्रेस बागमती प्रदेश अधिवेशन : सभापतिमा कसैको बहुमत नपुगेपछि पुन : मतदानको तयारी
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाले बढी मत ल्याएका छन् ।
२ हजार ८३ जना प्रतिनिधीले मतदान गरेकोमा बानियाले ९ सय ९२ मत प्राप्त गरेका छन् । राती मत गणना गरेर सकिएपछि बढी मत ल्याएपनि सभापति पदका लागि बानियालाई यो मत पर्याप्त भने होइन ।
मत परिणाम अनुसार सभापतिका अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ८ सय ७७ मत पाए भने भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरे । बानिया सहित तीनै जना सभापतिका उम्मेद्वारले पार्टीको विधान अनुसार ५१ प्रतिशत मत प्राप्त नगरेकाले फेरि मतदान गर्नुपर्ने भएको छ । सभापति हुनका लागि आवश्यक मत कसैको पनि हुन नसकेकाले अब फेरि आज सभापति पदमा चुनाव हुने भएको छ । बढी मत पाएका बानियाको पनि कुल मतको ४८ प्रतिशत मात्र मत हुन आउँछ ।
निर्वाचन समितिका अनुसार चुनावमा १० मत भने बदर तथा १२ जनाले सभापति पदमा मत नदिएको पाइएको छ ।
राती मत गणना भएदेखि नै बानियाले अन्य दुई उम्मेद्वारलाई उछिन्दै आइरहेका थिए ।











































