मूल्यवृद्धि फिर्ता गर, स्थानीय निर्वाचनको मिति घोषणको माग गर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन

लोकखबर
२०७८ माघ २३, आईतवार २१:२१

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, स्थानीय निर्वाचनको मिति घोषणको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ ।

मूल्यवृद्धिको फिर्ता र स्थानीय तहको निर्वाचनको मिति घोषणको माग गर्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, हेटौंडा नगर कमिटीले आज साँझ हेटौंडाको बुद्धचोकमा राँके जुलुस प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका थिए । उनिहरुले विरोध प्रदर्शनमा ‘मापसे सरकार मुर्दावाद,मूल्यवृद्धि फिर्ता गर,स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर,लिपुलेक लिम्पियाधुरा र कालापानी फिर्ता गर,नेकपा एमाले जिन्दावाद,केपी ओली आई लभ यू,राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद’ भन्दै नारावाजी गरेका थिए । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता र स्थानीय निर्वाचनको घोषणा नभएसम्म प्रदर्शन जारी राख्ने उनीहरुले जनाएका छन् ।

यसअघि,आजै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको बाइपास सडकमा एक घण्टे चक्काजाम गरेका थियो ।

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएसंगै देशभर विरोध प्रदर्शन भईरहेको छ । आयोगले मूल्य बढाएसंगै हाल पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ रुपैयाँ पुगेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको