क्याम्पाडाँडामा पुरुष फुटबल, ब्याडमिन्टन खेल हुदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा हिजो शनिबारबाट सुभारम्भ गरिएको प्रथम प्रदेश खेलकुद प्रतियोगितामा आज आइतबारबाट पुरुष फुटबल, ब्याडमिन्टन खेल हुँदैछन् ।
यसपछि चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता संचालन गर्ने आयोजकको तयारी छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा सुरु प्रतियोगिता बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्घाटन गरेका हुन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ क्याम्पाडाँडास्थित पिप्ले रंगशालामा जारी प्रतियोगिताका लागि ८ करोड ४ लाख रुपैयाँ रकम खर्च लाग्ने आयोजकको अनुमान छ ।
प्रतियोगिता आगामी चैत १२ गतेसम्म संचालन हुने जनाइएको छ । आयोजकका अनुसार विभिन्न ८ वटा खेलमा प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, तेक्वान्दो, कराँते, एथ्लेटिक्स, बक्सिङ र ब्याडमिन्टन खेललाई समावेश गरिएको जनाइएको छ ।











































