हेटौंडा उपमहानगरमा गठबन्धनबाट एकीकृत समाजवादीकी मीना लामा उम्मेदवार
मकवानपुर । सत्तागठबन्धनबाट हेटौंडा उपमहानगरपालिकामा प्रमुखको उम्मेदवारमा एकीकृत समाजवादीबाट मीना लामाको टुंगो लागेको छ ।
पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलको पनि प्रमुखमा दाबी रहेपनि लामाको पक्षमा निर्णय भएको बताइएको छ ।
एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकामा उठ्ने उम्मेदवारको टुंगो लगाएको हो । देशैभरका ६ महानगरमध्ये समाजवादीले भाग पाएको पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवार टुंगो लगाएको बताइएको छ । यस्तै ११ उपमहानगरमध्ये समाजवादीले पाएको हेटौंडाको मेयर सहित इटहरी, बुटवल र तुलसीपुरको उपमेयरमा उठ्ने उम्मेदवारको नाम पनि टुंगो लागेको जनाइएको छ ।
पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय भएको बताइएको छ । काठमाडौं उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको जनाइएको छ । बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपमेयरमा जोगबहादुर राना, इटहरी उपमहानगरपालिको मेयरमा केशव विष्टलाई उम्मेदवार बनाउने पार्टीको निर्णय रहेको एकीकृत समाजवादीका एक नेताले बताएका छन् ।











































