एमालेले किर्ते गरी भ्रम सिर्जना गर्यो, म एकीकृत समाजवादीमै छु : गोले
मकवानपुर । एकीकृत समाजवादी मकवानपुरमा आबद्द देवलाल गोले नेकपा एमालेमा प्रवेश गरेको भन्ने समाचारमा सत्यता नभएको प्रेस विज्ञप्तीमार्फत उनले प्रष्ट पारेका छन् ।
विद्युत प्राधिकरणको कर्मचारी रही राष्ट्रसेवामा खटिने आफ्नो जिम्मेवारीमा लागिपरेकोमा भीमफेदीमा रहेका एमाले पार्टीका उम्मेदवारले निर्वाचनमुखी फाइदाका लागि सो पार्टीमा प्रवेश गरेर भ्रम सिर्जना गरेको गोलेले बताएका छन् ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै गोलेले आफ्नो फोटो तथा किर्ते कागजसहित विभिन्न मिडियामार्फत भ्रम फैलाएको भन्दै खेद प्रकट समेत गरेका छन् । उनले भनेका छन्,‘म देवलाल गोले विद्युत प्राधिकरणको कर्मचारी हुँ । अनुशासन र आचारसंहितामा रहेर हर कुनै बेला अझ निर्वाचनका बेलामा राष्ट्रसेवामा अहोरात्र लाग्नुपर्ने मेरो कर्तव्य र जिम्मेवारीभित्र पर्दछ । तर भीमफेदीमा रहेका एमाले पार्टीका उम्मेदवारहरुले आफूलाई निर्वाचनमुखी फाइदाका लागि मेरो फोटो र किर्ते कागज सहित विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा मिति २०७९/०१/२० गतेका दिन गलत प्रचारप्रसार भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा व्यापक खेद प्रकट गर्दछु ।’
यस्तै, उनले भ्रम सिर्जना गर्ने काम नगर्न भीमफेदी एमाले उम्मेदवारहरुलाई आग्रह गरेका छन् । ‘एउटा राष्ट्रसेवक कर्मचारीको विषयमा भ्रामक समाचार बनाएर जनतामा भ्रम सिर्जना गर्ने काम नगर्न भीमफेदी एमाले उम्मेदवारहरुलाई आग्रह गर्दछु ।’
गोलेले लोकतान्त्रिक व्यवस्थामा संविधानले दिएको अधिकार बमोजिम आफ्नो आस्था र विश्वास भने एकीकृत समाजवादीमा रहेको पनि विज्ञप्तीमार्फत उल्लेख गरेका छन् । ‘निश्चित रुपमा संविधानले दिएको यो लोकतान्त्रिक व्यवस्थामा नागरिकको हकअधिकार बमोजिम मेरो आस्था र विश्वास समाजलाई अग्रगामी परिवर्तन गर्न सक्ने दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा रहेको यसै पत्रसाथ व्यक्त गर्दछु ।’ उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।











































