दलको नेता बन्न लामा र बाँनियाको रस्साकस्सी
मकवानपुर । नेपाली कांग्रस बागमती प्रदेश संसदीय दलको नेता आज बुधबार चयन गरिदैछ ।
संसदीय दलको नेता बन्नका लागि पार्टी केन्द्रिय सदस्य बहादुरसिं लामा र प्रदेश सभापति इन्द्रबहादुर बाँनियाका बीच तँछाड-मँछाडको अवस्था छ । केन्द्रिय सदस्य त्यसमा पनि प्रतिनिधीसभाको उम्मेदवारीबाट पछि हटेर संघमा झरेका लामाले यसलाई प्रतिष्ठाको विषय मानेका छन् । त्यस्तै, प्रदेश सभापति रहेका बाँनियाले गठबन्धन कायम रहँदाको समयदेखि मुख्यमन्त्रीका रुपमा आफूलाई प्रचार गर्दै आएकाले दलको नेता जिताएर देखाउनुपर्ने चुनौती छ ।
बागमती प्रदेशमा कांग्रेसको ३७ जना सांसद छन् । दलको नेता बन्नका लागि १९ जना सांसदको समर्थन आवश्यक पर्दछ । दुवै पक्षले आ-आफ्नो पक्षको तयारी तीब्र पारेका छन् । हिजो मंगलबार लामा र बानियाले आफूपक्षीय सांसदहरुको हेटौंडामा छुट्टा-छुट्टै भेला आयोजना गरी आफ्नो शक्ति प्रर्दशन गरेका छन् ।
लामा पक्षले हेटौंडाको होटल मोटल एभोकाडोमा भेला आयोजना गरेको थियो भने बानिया पक्षले पार्टी कार्यालयमा निर्वाचित सांसदलाई बधाई कार्यक्रम भन्दै शक्ति प्रर्दशन गरेको थियो । बाँनियाले बेलुका रिगल हेटौंडा रिर्सोटमा रात्रीभोजको समेत आयोजना गरेको पाइएको छ । बानियाको भेलामा १६ जना प्रदेशसभा सदस्यको सहभागिता रहेको बुझिएको छ ।
दलको नेताका आकांक्षी दुवैजना कांग्रेस संस्थापन पक्षका हुन् । लामालाई शेखर-गगन समूहको पनि समर्थन रहेको चर्चा छ । तर चुनावका बेलामा प्रदेश सभापति बानियाले आफू निकटकालाई टिकट दिएर जिताएको पनि बताइन्छ । एउटै खेमाको भएपनि दलको नेतामा चुनिनुलाई दुवै पक्षले प्रतिष्ठाको विषय ठानेकाले कडा प्रतिष्पर्धाका बीचबाट दलको नेता चयन हुने देखिएको छ । कांग्रेस-माओवादीसहितको तत्कालीन गठबन्धन टुटेर प्रतिपक्षीको हैसियतमा झरेपनि राजनीतिक कोर्स जुनसुकै बेला बदलिनसक्ने भएकाले दुवैले भविष्यको सम्भावित मुख्यमन्त्री आफैं हुने प्रचार गर्ने गरेका छन् ।











































