मुख्यमन्त्रीको सपथ लिएपछि जम्कट्टेलले गरे यस्तो निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जम्कट्टेल र अरु दुई जना मन्त्रीले आज मंगलबार सपथ ग्रहण गरेका छन् ।
सोमबार हिजो मात्रै मुख्यमन्त्रीमा नियुक्त जम्कट्टेललाई बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सपथग्रहण गराएका हुन् ।
मुख्यमन्त्रीसँगै नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्वव थापाले पनि पद तथा गोपनियताको शपथ लिएका छन् ।
थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । थापाको मन्त्रालय भने तोकिन बाँकी छ ।
माओवादी केन्द्रका संसदीय दलका नेता जम्कट्टेललाई एमाले, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहित पाँच वटा पार्टीका ७० जना सांसदको समर्थन रहेको छ ।
मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहणपश्चात जम्मकट्टेलले पदभार ग्रहण गर्दै प्रदेशमा मन्त्रालय संख्या निर्धारण गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन् । उनले १५ दिनभित्र कार्यदलले प्रतिवेदन पेश गर्ने गरी बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका हुन् ।
कार्यदलले दिने प्रतिवेदनका आधारमा मन्त्रालय संख्याबारे निर्णय लिने जम्कट्टेलको भनाई छ ।











































