मन्त्री श्रेष्ठले भेटे हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवार

लोकखबर
२०७९ फाल्गुन १६, मंगलवार ०७:०२

मकवानपुर । गत शनिबार सिन्धुलीको कमलामाई नगरपालिका १३ स्थित माथिल्लो रानीबासमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका ४० बर्षीय दण्डपाणी पौडेलको परिवारलाई बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंंगानारायण श्रेष्ठले भेटेका छन् ।
पौडेलको परिवारलाई भेट्नका साथै मन्त्री श्रेष्ठले हात्तिले आक्रमणबाट क्षति भएका ११ बढी घरको निरिक्षण समेत गरे ।

श्रेष्ठले स्थानीयसँग अन्तरक्रिया गर्दै सुरक्षाका लागि स्थानीय जनसमुदायसँग मिलेर प्रहरी र वन रक्षकको गस्ती बढाउन निर्देशन दिए । हाल सुरक्षा गरिहेका जिल्ला प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलाई दोब्बर बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, डिभिजन वन अधिकृतलाई हात्तिले गर्न सक्ने आक्रमणबाट सुरक्षित राख्नका लागि आवश्यक प्रबन्ध मिलाउन पनि मन्त्री श्रेष्ठको निर्देशन छ । स्थानीयलाई हात्तीबाट हुनसक्ने क्षतिलाई मध्य नजर गर्दै सुरक्षित रहन विज्ञहरुको सल्लाह अनुसार अघि बढ्न मन्त्रीको सुझाव छ ।

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई दुई दिनभित्र राष्ट्रिय निकुञ्जबाट १० लाख क्षतिपूर्ति उपलब्ध गराउनुका साथै बागमती प्रदेश सरकारबाट आर्थिक सहयोग उपलब्ध गराउने मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।

यस्तै, मन्त्री श्रेष्ठले मृतकको श्रीमती ममिता पौडेललाई रोजगारी र मृतकको एक छोरा र एक छोरीलाई परिवारको सहमतीमा विद्यालय शिक्षाका लासग सहयोग गर्ने प्रतिबद्धता पनि गरे ।

जंगली हात्तीको आक्रमणबाट घरहरुमा क्षति पुर्‍याएको र अन्नबाली नष्ट गरेको स्थानीयलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने मन्त्री श्रेष्ठले बताए। मन्त्री श्रेष्ठको प्रतिबद्धतापछि विगत दश वर्षदेखि जंगली हात्तीको आतंकबाट त्रसित स्थानीयमा अब समस्या समाधान हुने आशा पलाएको छ ।
हात्तीको आक्रमणबाट कमलामाई १३ का देवी देवकोटा, जयप्रसाद देवकोटा, चमार माझी, शिव कार्की, खिकराज देवकोटा, सर्मिला थापा, होममाया बोहरा, चन्द्रमाया बोहरा, तिलमाया थापा, प्रेमबहादुर भण्डारीको घरमा क्षती पुगेको छ । यस्तै, तोपबहादुर बोगटीको धान र तरकारी नष्ट गरेको वडा अध्यक्ष केशरबहादुर कार्कीले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको