आगामी आवका लागि हेटौंडा उपमहानगरपालिकाको बजेट २ अर्ब ६० करोड ६५ लाख
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार ८ सय रुपैँयाको बजेट विनियोजन गरेको छ ।
संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ,आन्तरिक श्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार ७० रुपैयाँ, राजश्व बाँडफाँडबाट ५९ करोड १४ लाख १० हजार ७ सय ३० रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र व्यहोरिने गरी उपमहानगरपालिकाले शनिबार बजेट सार्वजनिक गरेको हो ।
उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा पूर्वाधार विकासतर्फ सबै भन्दा धेरै रकम १ अर्ब रुपैयाँ छुट्याइएको छ । यस्तै, आर्थिक विकासतर्फ ११ करोड ७६ लाख, सामाजिक विकासतर्फ ९२ करोड ९२ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७ करोड १५ लाख रुपैयाँ,संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ४ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख बानियाँले जानकारी दिए ।
असार १० गते भित्र निती तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने सरकारको निती अनुसार उपमहानगरले निती तथा कार्यक्रम ल्याएको हो । नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा कार्यक्रम भएको हो ।











































