भीमफेदीमा रैथाने बालीमा नगद अनुदान
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले खडेरीका कारण यस वर्ष खाद्य बाली मकै उत्पादनमा कमी आउने आँकलन गरिएको भन्दै खाद्य संकटबाट बच्न किसानलाई रैथाने बालीमा नगद अनुदान व्यवस्था गरेको छ ।
पालिकाका अध्यक्ष हिदम लामाका अनुसार गाउँपालिकाको प्रमुख खाद्य बाली उत्पादनमा आउने गिरावटले निम्तन सक्ने खाद्य संकट रैथाने बाली (कोदो र फापर) खेती गरी पुर्ती गर्नुपर्ने लक्ष्य लिइएको हो । यसका लागि पालिकाले आगामी आर्थिक वर्षमा कोदो र फापर खेती गर्नेहरुलाई उत्पादनमा आधारित नगद अनुदान कार्यक्रम राखेको हो ।
खडेरीका कारण यस वर्ष खाद्यान्न बाली मकै उत्पादनमा २५ देखि ३० प्रतिशतसम्म कमी आउने आँकलन गरिएको भन्दै पालिकाले पूर्व तयारीका लागि नगद अनुदानको कार्यक्रम अघि सारेको बताइएको छ ।
पालिकाले समयमै कोदोको बीउ राख्ने, कोदो रोप्ने, फापर छर्ने काममा योजना बनाउनु आफ्ना कृषकहरुमा आग्रह गरेको छ । यस विषयमा थप जानकारी यही असार २६ गते सूचना प्रकाशन गरी थप जानकारी दिइने अध्यक्ष लामा बताउँछन् ।
आगामी आव २०८०/०८१ मा गाउँपालिकाको नीति तथा कार्यक्रममा रैथाने बाली (कोदो, फापर) खेती गर्ने कृषक,कृषि फर्महरुलाई नगद प्रोत्साहन गर्ने नीति स्वीकृत भएको थियो । अहिले पालिकाको प्रायः सबै वडाहरुमा कोदो, फापर लगायतका रैथाने बाली लगाउने वेला भएकोले वडाका जनप्रतीनिधि,कृषक माझ यस विषयमा प्रचार प्रसार गर्न १५ असारमा सूचना समेत प्रकाशन गरेको छ । सूचनामा रैथाने बालीलाई बढी भन्दा बढी जग्गामा खेती गर्न सबै सरोकारवाला समुदायहरुलाई प्रोत्साहित गर्न पनि पालिकाले भनेको छ ।











































