सर्वोच्चको आदेश आएपनि साउन १६ बाट सडक विस्तार कार्य अघि बढ्ने, ६० वटासम्म डोजर चल्ने !
मकवानपुर । हेटौंडाको सडक विस्तारको चर्चा चलेको लामै समय भयो । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडाको साँघुरो सडकका कारण कहिलेकाहीँ विभिन्न टिकाटिप्पणी पनि हुने गरेका छन् । प्रदेश राजधानीको सडक भने लाजमर्दो भएको भन्दै विभिन्न टिकाटिप्पणी हुने गरेका हुन् । यो पटक फेरि सडक विस्तारको बहस तातेको छ । अबको बहसले सार्थकता पाउला वा नपाउला भन्ने अर्को तर्क पनि हेटौंडामा छ । तर यो पटकको परिदृश्य अलि पृथक छ । सडक विस्तारका सवालमा यो पटक हेटौंडा उपमहानगरपालिका, मकवानपुरका राजनीतिक दलहरुको एउटै मत छ । पटक पटक रोकिदै र सर्दैै आएको सडकको बीच भागबाट २५/२५ मिटर सडक विस्तार कार्य अब कुनै पनि हालतमा रोकिनुु हुन्न भन्नेमा प्रायः एकमत छन् । तर केही व्यवसायी र घरधनीको भने यसमा असहमती देखिन्छ ।
विगतमा जब सडक विस्तार सुरु हुन्थ्यो, अदालतको आदेशपछि राकिन्थ्यो । घटना पुनः दोहोरिएको छ । यो पटक सर्वोच्च अदालतले आदेश दिएको छ । तर पनि यो आदेशले सडक विस्तार कार्यलाई असर नगर्ने सरोकारवाला बताउँछन् । सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेश यादवले सडक विस्तार कार्य अगाडि बढिसकेकाले अब रोकिनुपर्ने कुनै कारण नरहेको बताउँछन् । आफूहरु यतिबेला सडक विस्तारका लागि समय मात्र कुरेर बसेको उनको भनाई छ । हेटौंडा बजार क्षेत्रको ३४१ घरधनीहरुले २०७३ मा नै दायर गरेको मुद्धाको फैसला भइसकेकाले सोहीअनुसार सडक विस्तार कार्य अघि बढ्ने उनी बताउँछन् । सर्वोच्चको हालको अल्पकालीन आन्तरिम आदेशले फेरि सडक विस्तार कार्य रोकिने हो कि भन्ने भ्रम पैदा गरेपनि अब विकास कार्यबाट पछि फर्कन नसकिने उनको तर्क छ । उनले यही साउन १६ बाट सडक विस्तार कार्यलाई अघि बढाइने जानकारी दिए । तत्कालका लागि अदालतको आदेश अनुसार २५ गज सडक सिमा विस्तार गरिने र सोही अनुसार सडक सीमामा रहेका घरटहरा हटाउने आफूहरुको योजना रहेको उनले सुनाए ।
सडक सीमा २५ मिटर कायम भएकाले उक्त सीमासम्म कायम गर्न आवश्यक ७ फिट जग्गा अधिग्रहणको प्रक्रिया पुरा गरी सडक विस्तार गर्ने सडक डिभिजन कार्यालयको भनाई छ ।
सडक विस्तारका लागि न्यूनतम् ६ र अधिकतम् आवश्यकताका आधारमा ६० वटासम्म डोजर प्रयोग गर्ने गरी आफूहरु तयारीमा रहेको प्रमुख यादवले जानकारी दिए ।











































