पहिरोमा बगाएका बाबु छोरी मृत भेटिए, बेपत्ता तीन जनाको खोजी
मकवानपुर । अविरल वर्षाको कारण मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५, सिक्रे दोभानमा गएको पहिरोमा बगाएका बाबु छोरी मृत फेला परेका छन् ।
मंगलबार विहान ४ बजे पहिरोमा हराएका ६० बर्षीय अक्कल बहादुर स्याङ्तान र उनको छोरी २२ बर्षीया शिला पहरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
खोजी कार्यमा संलग्न सुरक्षाकर्मीको टोलीले बुधबार विहान ९ बजेर १० मिनेटमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ को करेस्थित बागमती नदीको बिच बगरमा बाबुछोरीको शव फेला पारेको हो ।
पहिरोमा एकै परिवारका ६ र पाहुँना लाग्न आएका एक गरी ७ जना परेका थिए । अक्कल बहादुरर्की श्रीमती ५५ बर्षीया सन्तमायालाई पहिरोमा परेको केही समयमै उद्दार गर्न सकिएपनि अवस्था चिन्ताजनक भएकाले उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार पहिरोमा परेका अरु तीन जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विक्रम मगरको नेतृत्वको ३५ जना प्रहरी टोली बेपत्ताहरुको खोजी कार्यमा परिचालित छ ।
पाहुना बस्न आएका पहिरोमा बेपत्ता सिन्धुली हरिहरपुर गाउँपालिका वडा नम्बर १ कोकटी बस्ने १७ बर्षीय पासाङ घिसिङलाई मंगलबार साँझ ७ बजे बागमती खोलाको किनारबाट प्रहरीले जिवितै उद्धार गरेको छ ।
पहिरोमा परी बेपत्ता हुनेमा अक्कलबहदुरका ज्वाई २५ वर्षीय जीवन पहरी, नाती ४ वर्षिय मिलन पहरी र नातिनी डेढ वर्षिय दिव्या पहरी छन् ।











































