बागमतीले पचास हजारलाई रोजगारी दिने
मकवानपुर। बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले वार्षिक न्यूनतम ५० हजार जनालाई रोजगारीको प्रत्याभूत गराउने कार्यनीतिका साथ प्रदेश श्रम तथा रोजगार नीति सार्वजनिक गरेको छ ।
सोमबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल र श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले एक कार्यक्रमका बीच नीति सार्वजनिक गरेका हुन् । मन्त्रालयले सार्वजनिक गरेको रोजगार नीतिमा काम गर्न इच्छुक तर काम नपाएका व्यक्तिलाई लक्षित गरी मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरी वर्षमा कम्तीमा ५० हजार जनालाई रोजगारीको प्रत्याभूति गराउने उल्लेख छ ।
प्रत्येक स्थानीय तहबाट कम्तीमा एउटा श्रममूलक रोजगार लक्षित कार्यक्रम सञ्चालनका लागि स्थानीय तहहरूसँग सहकार्य गर्ने नीति अवलम्बन गरिने बताइएको छ । स्थानीय स्तरका विकास निर्माणका काममा श्रममूलक प्रविधिको प्रयोगलाई प्राथमिकता दिइने जनाइएको छ । प्रतिस्पर्धी जनशक्ति विकास तथा उत्पादनमूलक क्रियाकलापका लागि अनुकूल वातावरणको सिर्जना गरी सबैलाई गुणस्तरीय रोजगारी एवं स्वरोजगारीका अवसर प्राप्त हुने श्रम तथा रोजगार नीतिले लक्ष्य राखेको छ ।
प्रदेश मन्त्रालयले लक्ष्यप्राप्तिका लागि ५ वटा उद्देश्यका साथ २५ वटा रणनीतिहरू निर्धारण गरेको छ । वैदेशिक रोजगारीमा जान चाहनेका लागि दक्ष र सीपयुक्त बन्न प्रेरित गर्ने नीति प्रदेश सरकारले लिएको छ । वैदेशिक रोजगारसम्बन्धी सहयोगी सेवाहरू प्रदेशस्तरबाट उपलब्ध गराउन आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गर्ने, वैदेशिक रोजगारबाट प्राप्त आम्दानी, सीप, अनुभव र प्रविधिलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने रणनीति समेटिएको छ ।
अनौपचारिक क्षेत्रका श्रमिकलाई संगठित हुन सहज हुने कानुनी तथा संस्थागत व्यवस्था गर्नुका साथै उनीहरूलाई सामाजिक सुरक्षाका कार्यक्रममा सहभागी गराउन समन्वय र सहजीकरणको नीति लिइएको छ । उनीहरूको सीप तथा दक्षता अभिवृद्धिका लागि तालिम तथा दक्षता अभिवृद्धि कार्यक्रम गरी औपचारिक क्षेत्रमा ल्याउने पनि सोच बनाइएको छ ।
आगामी २० वर्षका लागि प्रदेशलाई आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गरी त्यस्तो जनशक्ति उत्पादनका लागि शैक्षिक तथा तालिम संस्थासँग सहकार्य गर्ने नीति पनि प्रदेश सरकारले लिएको छ । नीतिको कार्यान्वयनबाट दक्ष र सीपयुक्त जनशक्ति उत्पादन भई श्रम बजारको आवश्यकता बमोजिमको दक्षतायुक्त जनशक्तिको बजारमा आपूर्ति हुने अपेक्षा गरिएको श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव तीर्थराज भट्टराईले बताए ।
नीति कार्यन्वयनको क्रममा अनौपचारिक क्षेत्रका श्रमिकहरू औपचारिक क्षेत्रमा रूपान्तरण हुँदै जाने र श्रमिकको अधिकारको रक्षा र श्रम प्रशासनको पनि सुदृढीकरण हुने विश्वास गरिएको उनले बताए ।
प्रदेश श्रम तथा रोजगार नीति सार्वजनिक गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारले कृषि उत्पादनको मोडल परिवर्तन गरी रोजगारी सिर्जनाको कार्यक्रम अघि सारेको बताए ।
सरकारले चालू आवमा समुदायमा आधारित कृषि उत्पादनको कार्यक्रम ल्याएको भन्दै उनले त्यस कार्यक्रमबाट प्रदेशमा २० हजारभन्दा बढी किसान जोड्ने लक्ष्य राखिएको बताए । गृहिणी महिला कार्यक्रममार्फत गृहिणीलाई स्वरोजगार बनाउनुका साथै सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जान प्रेरित गर्ने कार्यक्रम प्रदेशले ल्याएको मुख्यमन्त्री जमकट्टेलले सुनाए ।
प्रदेश सरकार मातहतका कार्यालयमा अस्थायी तथा ज्यालादारीमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीति लिइएको मुख्यमन्त्री जमकट्टेलले बताए । संघीय सरकारले अनौपचारिक क्षेत्रका श्रमिकहरूको सामाजिक सुरक्षा कोषमा लगानी नगरेको भन्दै उनले असन्तुष्टि जनाए ।
कारोबारडेली डटकममा संवाददाता केशव समर्पणले लेखेको समाचार ।











































