हेटौंडामा माओवादी केन्द्रको पार्टी सुदृढिकरण अभियान सुरु
मकवानपुर । पार्टी केन्द्रको निर्देशन अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हेटौंडा उपमहानगर कमिटि पार्टी सुदृढिकरणका लागि संघीय कमिटिको निर्देशन अनुसार तीन महिने विशेष अभियानमा जुटेको छ । शनिबार हेटौंडामा बसेको हेटौंडा उपमहानगर कमिटिको पूर्ण बैठकले यसबारेमा विशेष तयारी अघि बढाइएको उपमहानगर कमिटिका अध्यक्ष तिर्थ थापा मगरले जानकारी दिए ।
बैठकमा बोल्दै बागमती प्रदेश, सामाजिक विकास मन्त्री कुमारी मोक्तानले हाल पछिल्लो समयमा कार्यकर्तामा निराशा छाइरहेको पाइएकाले सकृयता र सशक्तता बढाउन अभियान अघि बढाइएको बताइन् । नीजि स्वार्थभन्दा माथि उठेर परिवर्तनलाई बचाउँदै सकृय रुपमा अभियानमा जुट्न उनले हेटौंडा उपमहानगर अन्तर्गतका पार्टीपंक्तिलाई निर्देशन दिइन् । माओवादी पार्टीलाई २०८४ मा २०६४ को अवस्थामा पुर्याउने लक्ष्यकासाथ तीन महिने अभियानमा जनताका घरघरमा पुग्न कार्यकर्तालाई उनले निर्देशन दिइन् ।
पार्टी केन्द्रीय सदस्य तथा तीन महिने अभियानमा हेटौंडा उपमहानगरका कमाण्डर डीपी ढकालले पार्टीमा कार्यकर्ता पङ्तीमा हाल गुनासोहरु सुन्ने गरेको भन्दै गुनासोहरुलाई सुन्दै सबै पार्टी पङ्ती रुपान्तरणमा लाग्न अनुरोध गरे । यस्तै, बागमती प्रदेश सांसद समेत रहेका माओवादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ ले तीन महिने अभियानलाई सफल बनाउँदै निरन्तर संगठन निर्माणमा सकृय रहन आफ्ना कार्यकर्तालाई निर्देशन दिए ।
अभियान तीन चरणमा हुने
पहिलो चरणमा तहगत बैठक, भेला, प्रशिक्षण, सदस्यता नविकरणरविस्तार, कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधको पहिचान र समाधानको पहल, तथा कार्यकर्ता व्यवस्थापनका लागि कोष निर्माण गर्ने माओवादी केन्द्रले उल्लेख गरेको छ । यसैगरि, दोस्रो चरणमा पार्टीमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तर्कृया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला जस्ता कार्यक्रम गरिने उल्लेख छ । यस्तै, जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालन कार्यक्रम, सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यवद्धताका कार्यक्रम तेस्रो चरणमा गरिने माओवादी केन्द्रले जनाएको छ ।
भदौ १६ गतेसम्म वडामा तयारी बैठक
माओवादी पार्टी उपमहानगर कमिटिले भदौ ११ गते हेटौंडा उपमहानगर अन्तर्गत वडा नम्बर १, २, ३, ४, ५ को अभियानका लागि तयारी बैठक राखेको छ । यस्तै, १३ गते वडा नम्बर ६, ७, ८, ९, १० को बैठक राखेको छ । यसैगरी, १५ गते वडा नम्बर ११, १२, १३, १४, १५ को बैठक राखेको छ । यस्तै, १६ गते वडा नम्बर १६, १७, १८ र १९ को अभियान तयारी बैठक राखेको छ । आगामी भदौ १६ गते हेटौंडा उपमहानगरको १९ वटै वडामा तीन महिने अभियानको एकसाथ उद्घाटन गरिने माओवादी केन्द्र हेटौंडा उपमहागर कमिटिले जनाएको छ ।
बैठकमा नेकपा ९माओवादी केन्द्र० का केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद एवम् सचेतक रत्न ढकाल, बागमती प्रदेश सचिवालय सदस्य एवम् जिल्ला संयोजक, सकेश घलान, बागमती प्रदेश सचिवालय सदस्य एवम् जिल्ला सचिव भिम पाख्रिन, बागमती प्रदेश कमिटि सदस्य तथा नगर इन्चार्ज विवेक राई, बागमती प्रदेश कमिटि सदस्य लक्ष्मी पाख्रीनलगायतको उपस्थिती थियो ।











































