मनहरी गाउँपालिकाको उल्टो यात्रा : आरोेपितलाई साक्षी राख्ने, पत्रकारलाई बन्धक बनाउँने ! 

लोकखबर
२०८० भाद्र ३०, शनिबार २१:०४

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका एक पछि अर्को विवादमा मुछिन थालेको छ । विपन्न, वनकरीया, सहिद तथा द्वन्दपिडीत परिवारका लागि दिइएको भनिएको पाडीमा भ्रष्टाचार भएको आरोप खेपिरहेको पालिकालाई पछिल्लो समय क्रसर व्यवसायीका लागि १६ करोड रकम मिनाहा गरेको भन्ने आरोप लागेको छ । पाडो खरिदमा भ्रष्टाचार भएको व्यापक आलोचना आएपछि पालिका अध्यक्ष रञ्जन कालाखेतीले नेपाल पत्रकार महासंघ मकवानपुरमा पाडो बिक्री गर्नेलाई नै दायाँबायाँ साक्षी राखेर गत २१ भदौमा पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा उनले सिधै भ्रष्टाचार गरिएको त भनेनन् तर ‘अनियमितता भएको भए रकम फिर्ता गर्न लगाउँछु’ चाहिँ भने । पालिकाले जो व्यापारीसंग मिलेमतो गरी पाडी खरिदमा अनियमिता गर्‍यो भन्ने आरोप खेपिरहेको थियो, उसलाई नै साक्षी राखेर पत्रकार सम्मेलन गर्नु एक प्रकारको त्रसित मानसिकताको उपज हो भन्ने बुझ्न सकिने विश्लेषण गरिएको थियो । पत्रकारलाई प्रश्न गर्ने वातावरण नै नहोस् भन्नका लागि सजिलो बाटो खोज्न पालिकाले पाडी बेच्नेलाई नै पत्रकारमाझ उभ्याएर आफू चोखो हुन खोजेपछि उल्टै आलोचना खेप्नुपर्‍यो । फेरि आज शनिबार पालिका उही रुपमा प्रस्तुत भयो । क्रसर व्यवसायीलाई फाइदा पुग्ने गरी करिब १६ करोड ३६ लाख राजस्व हिनामिना गरेको समाचार सार्वजनिक भएपछि सो बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पत्रकार नै असुरक्षित हुनु पुगे ।

पत्रकार सम्मेलनमा गैरपत्रकारहरुको सहभागिता भएको भन्दै पत्रकारहरुले कार्यक्रममा बस्न मानेनन् । पत्रकार सम्मेलन भनेर बोलाइएपनि क्रसर व्यवसायीको भीड जम्मा गरेर पत्रकारलाई तर्साउन खोजेको अर्को आरोप पालिका अध्यक्ष कालाखेतीमाथि लागेको छ । मनहरी गाउँपालिका ३ लामिटारस्थित पालिका भवनमा आयोजित पत्रकार सम्मेलनमा एक सय जनाको हाराहारीमा युवाको भीड जम्मा पारिएको थियो । ती युवाहरुले पत्रकारसँगको सवाल जवाफ सुन्ने चाहना रहेको भन्दै हलमा बस्न माग गरेका थिए । तर गिटी,बालुवा व्यवसायसँग कुनै न कुनै रुपमा जोडिएका युवाहरु पत्रकार सम्मेलनमा देखिएपछि पत्रकारहरुले असुरक्षाका कारण कार्यक्रममा बस्न इन्कार गरेका थिए । पत्रकारहरु कम्पाउण्डभित्र छिरिसकेपछि गेट बन्द गरेर अघोषित बन्दी बन्दै पत्रकारहरु पत्रकार सम्मेलनमा बस्न बाध्य बनेका थिए । पत्रकारहरुले पत्रकार सम्मेलनमै आफूलाई असुरक्षित महसुस गरेपछि जनपद प्रहरीका दुई जना प्रहरी नायब निरीक्षक (सई) र शसस्त्र प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सइ) को नेतृत्वको प्रहरी टोली परिचालन गरिएको थियो । आफ्नो कार्यप्रति निरन्तर मिडिया तथा सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि बाहुबल देखाउँदै पत्रकारलाई तर्साउन पालिका अध्यक्षले क्रसर व्यवसायमा कुनै न कुनै रुपमा संलग्न युवाहरुको भीड जम्मा पारेको अर्को थप आरोप लागेको छ । गाउँपालिका अध्यक्ष कालाखेतीले पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस विज्ञप्तीमा स्थानीय सरकार राजश्व मिनाहा गर्ने निकाय नभएको र नदीजन्य बस्तु सम्बन्धी सबैखाले निर्णयहरु, अनुगमन लगायतका कामहरु जिल्ला समन्वय समितिले गर्ने भएकाले आफ्नो गाउँपालिकाको कुनै भूमिका नरहेको बताएका थिए ।

पत्रकार सम्मेलनमा पत्रकारहरुसँग गाउँपालिका अध्यक्ष कालाखेती, ८ नम्बर वडाध्यक्ष नारायण उप्रेती, प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, वरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्टराई, जिन्सीशाखा प्रमुख डिल्लीराम रेग्मी लगायतले सवाल जवाफ गरेका थिए । पत्रकार सम्मेलनमा १ नम्बर वडाध्यक्ष शिवप्रसाद खनाल, ३ नम्बर वडाध्यक्ष अनन्तप्रकाश अर्याल, ४ नम्बर वडाध्यक्ष प्रकाश थापा, ५ नम्बर वडाध्यक्ष दीपेन्द्र अधिकारी, ७ नम्बर वडाध्यक्ष ठाकुरराम तितुङ लगायत कार्यपालिका सदस्य र कर्मचारीहरुको उपस्थिति थियो ।

यसैबिच, गाउँपालिकाले शनिबार पत्रकारलाई गरेको व्यवहारप्रति नेपाल पत्रकार महासंघ मकवानपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पालिका कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारमाथि भएको व्यवहारप्रति महासंघ मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष मणिराज गौतमले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । यस घटनाले पत्रकारलाई त्रसित बनाउँने काम गरेको विज्ञप्तिमा भनिएको छ । ‘स्थानीय सरकारजस्तो जिम्मेवार निकायले पत्रकार सम्मेलनमा पत्रकारहरुलाई निमन्त्रणा गरेर नियन्त्रणमा लिने, बन्धक बनाउने, बाहिरी मान्छेहरुलाई पत्रकार सम्मेलन स्थलमा प्रवेश गर्न लगाएर स्वतन्त्र प्रेसमाथि धावा बोल्नेलगायतका दुव्र्यवहार गर्नुले आममकवानपुरे पत्रकारमा त्रासको अवस्था सिर्जना भएको छ । ’ विज्ञप्तिमा उल्लेख छ ।

आफूहरु असुरक्षित हुँदा समेत पालिकाका जनप्रतिनिधिहरुले पत्रकारलाई सुरक्षा प्रदान गर्न नसक्नु अत्यन्त गैरजिम्मेवार घटना भएको महासंघको ठहर छ । ‘पालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार असुरक्षित भएर पत्रकारहरुले नै प्रहरी र प्रशासनसँग सुरक्षा माग्नुपर्ने अवस्था सिर्जना हुनु भन्दा विडम्बना अरु के होला ?’ महासंघले भनेको छ,‘त्यसकारण यस घटनाप्रति पालिकाको तर्फबाट पूर्णप्रेस स्वतन्त्रताको पक्षमा रहेको प्रतिबद्धता तत्काल जाहेर गर्न महासंघ मनहरी गाउँपालिका कार्यालयलाई अनुरोध गर्दछ ।’

गाउँपालिका कार्यालयले आफूहरुलाई निमन्त्रणा गरी उल्टै दुव्र्यवहार गर्ने, मानसिक तनाव दिने र स्वतन्त्र प्रेसमाथि नै धावा बोल्ने काम गरेको जनाउँदै यस कार्यप्रति भत्र्सना गरिएको छ । साथै, स्वतन्त्र प्रेस माथिको जुनसुकै प्रकारका हस्तक्षेपको प्रतिकारमा महासंघ सधै तयार रहेको पनि विज्ञप्तीमार्फत् सरोकारवालालाई जानकारी दिइएको छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको