बढी भाडा असुल्ने सवारीसाधनलाई मकवानपुरमा कारवाही
मकवानपुर । दशैंको मौकामा यात्रुसंग बढी भाडा लिने सवारी साधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडाले बढी भाडा लिने सवारीलाई कारवाही गरेको हो ।
ट्राफिक प्रहरीले दशैं अवधिमा ८ वटा सवारी साधनबाट बढी भाडा बापत लिइएको २० हजार २५० रुपियाँ सम्बन्धित यात्रुलाई फिर्ता गराएको हो । जिल्ला ट्राफिक कार्यालय हेटौँडा मकवानपुरका प्रमुख वसन्त आचार्यका अनुसार लाग्दो भाडा भन्दा बढी भाडा तिर्न बाध्य भएका ५५ जनाको भाडा फिर्ता गराइएको हो ।
हेटौंडा–काठमाडौं सुमोभाडा दर ६५० तोकिएपनि यात्रुसँग आठसयदेखि बाह्रसय सम्म लिएको भेटिएपछि प्रतिव्यक्ति १५० देखि ५५० सम्म रकम फिर्ता गराइएको जनाइएको छ । सर्लाही–काठमाडौँ १२०० भाडादर तोकिएको भएपनि दुईहजार सम्म लिएकोमा प्रतिव्यक्ति आठसय रकम फिर्ता गराइएको छ । त्यस्तै, सिमरा-काठमाडौँ सुमोभाडादर ८५० तोकिएको भएपनि एकहजार सम्म यात्रुसँग लिएको भेटिएकोमा प्रतिव्यक्ति १५० रकम फिर्ता गराइएको ट्राफिक प्रहरीको भनाई छ । निजगढ–काठमाडौँ ८५० भाडादर तोकिएको भएपनि पन्ध्रसय लिएकोमा प्रतिव्यक्ति ६५० रकम फिर्ता गराइएको हो ।
चाडपर्वको मौका छोपी तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले बढी भाडा लिने सवारी साधनलाई कारवाही गरेको हो ।
यस्तै, दशैं अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १५ जना, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने १३७ सवारी र टिकट नकाट्ने ३१ सुमोलाई कारवाही गरिएको ट्राफिकको भनाई छ ।











































