‘दिमाग खराब’को मागमा निर्माता संघको समर्थन
मकवानपुर । पछिल्लो समय चर्चासहित दशर्कको मन जितिरहेको नेपाली चलचित्र ‘दिमाग’ खराब’का निर्माता निर्देशकले राखेको मागका विषयमा चलचित्र निर्माता संघले समर्थन गरेको छ ।
संघको विहीबार बसेको बैठकले ‘दिमाग खराब’ ले उठाएको विषयप्रति आफूहरुको समर्थन रहने र यो मागका विषयमा ऐक्यबद्धता पनि जनाएको हो ।
‘दिमाग खराब’का निर्माता निर्देशकले विदेशी चलचित्र बराबरी शो पाउनुपर्ने तथा आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर प्राप्त हुनुपर्ने दुई वटा शर्त अघि सारेका छन् । शर्त पूरा नभएको खण्डमा चलचित्र हलबाट उतार्ने उनीहरुको चेतावनी छ ।
नेपाली चलचित्र हलमा लाग्दा सुरुको दुई हप्ता हल सञ्चालक र निर्माताबीच टिकटबाट उठेको रकम आधाआधा बाँडफाँट हुने गरेको छ । तर, तेस्रो हप्तापछि भने हल सञ्चालकले ६५ प्रतिशत र निर्माताले ३५ प्रतिशतमात्रै पाउँदै आइरहेका छन् । विगतमा निर्माता संघ र हल सञ्चालकबीच सहमति भएरै यो यस्तो हुँदै आएको थियो । तर, अधिकांश निर्माता यसमा सन्तुष्ट नबनेको पाइएको छ । निर्माताले निरन्तर ५० प्रतिशत शेयर पाउनुपर्ने माग राखिएको छ ।











































