मकवानपुरमा गाँजासहित तीन जना समातिए

लोकखबर
२०८० पुष ११, बुधबार २१:२०

मकवानपुर । मकवानपुरको विभिन्न दुई स्थानबाट ९८ केजी गाँजासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडाको रातोमाटे र मनहरीबाट गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातामाटे चेकपोष्टबाट ८८ किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको हो । मकवानपुरको थाहा नगरपालिका–६, बज्रबाराहीका २५ वर्षीय सविन कुमार गुरुङलाई गाँजासहित नियन्त्रणमा लिइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
मंगलबार राती १२ बजेर २५ मिनेटको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले चितवनबाट सर्लाही जाँदै गरेको ना ८ ख ७५०४ नम्बरको कन्टेनर ट्रकलाई सुरक्षाजाँच गर्दा गाँजा बरामद भएको हो । गाँजासहित गुरुङ र ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, मकवानपुरको मनहरी गाउँपालिका–७, रमनटारबाट प्रहरीले १० किलो लागुऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको हो । मंगलबार राती १० बजेर १५ मिनेटको समयमा मकवानपुरको कैलाश गाउँपालिका–७, शर्सिका २५ वर्षीय हरी प्रजा र १८ वर्षीय प्रस्थान प्रजाको साथबाट गाँजा बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
पक्राउ गरिएकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको