भीमफेदी गाउँपालिकामा अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

लोकखबर
२०८० माघ १३, शनिबार २०:२४

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्य थालनी भएको छ ।

शनिबार प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेले पालिकाले सुरु गरेको सामाजिक सुरक्षा योजना कार्यान्वयनको शुभारम्भ गरे । कार्यक्रममा सभामुख घिमिरेले देशका तीनै तहको सरकार तथा रोजगारदाताले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्नुपर्नेमा जोड दिए ।

पालिकाले ९८ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्घ गराउँदै यस खालको अभियानको कार्यान्वयन थालेको हो । भीमफेदी अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने देशकै पाहिलो गाउँपालिका हो ।

सामाजिक सुरक्षा कोषामा आबद्घ भएका श्रमिकको तर्फबाट तलबको ११ प्रतिशत र त्यसमा स्थानीय तहले ९.३७ प्रतिशत रकम जम्मा गर्नेछ । सामजिक सुरक्षा ऐन २०७४ मा अनौपचारिक क्षेत्रको मजदुरको न्युनतम तलब १० हजार ८ सय २० हुनुपर्ने व्यवस्था छ । सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि सरकार र श्रमिकको तर्फबाट मासिक २ हजार २ सय ४ रुपैया गाउँपालिकाले कोषमा जम्मा गर्नुपर्नेछ । कोषमा आबद्घ भएका मजदुरले वार्षिक एक लाख बराबरको उपचार खर्च, ७ लाखको दुर्घटना बीमा, सुत्केरी महिला श्रमिकले ९८ दिन बराबरको पारिश्रमिक र शिशु स्याहारको लागि नगद २५ हजार पाउनेछन् भने दुर्घटना भै अशक्त भएको अवस्थामा नियमित पेन्सन पाउनेछन् ।

गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा १३ लाख रुपैयाँ बजेट पालिकाले बिनियोजन गरेको छ । नागरिकको सामाजिक सुरक्षा सम्बन्धी संवैधानिक हकको संरक्षण गर्नु स्थानीय सरकारको पनि दायित्व भएकोले आफूहरुले यस खालको अभियान थालनी गरेको अध्यक्ष लामाले बताए ।

कार्यक्रममा नेकपा एमालेका सचेतक समेत रहेका मकवानपुर क्षेत्र नम्बर २ का सांसद महेशकुमार बर्तौलाले यस खालको कार्यक्रमलाई निरन्तरता र स्थायित्व दिइनुपर्ने बताए ।

सभामुख घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइ लगायतको आतिथ्यता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको