लोकखबर छैठौं वर्षमा
मकवानपुर । लोक खबर प्रा.लि.ले बागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशन गर्दै आएको लोकखबर डटकम अनलाइन पत्रिका पाँचौ वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ ।
वि.सं.२०७५ माघ १६ सहिद दिवसका दिनबाट प्रकाशन आरम्भ गरिएको लोकखबरले विशेषगरी मकवानपुरलाई प्राथमिकता दिई पत्रकारिता गर्दै आएको छ । देश तथा विदेशका महत्वपूर्ण र चासोका विषयबस्तुलाई पनि पत्रिकामा समट्ने गरिएको लोक खबरका अध्यक्ष तथा सम्पादक शिव प्रसाद चौलागाईँले जानकारी दिए ।
सम्पादक चौलागाईँले अनलाइन प्रकाशनको छोटो समयमै पाठकबाट अपार माया तथा सद्भाव पाएको बताए । ‘विगतका दिनमा पनि आम पाठक तथा दर्शकबाट निरन्तर साथ पाई राखौँ भन्ने अपेक्षा छ ।’ चौलागाईंले भने,‘ समाजका सकारात्मक घटना र प्रेरणादायी सूचना सम्प्रषेणमा अनलाइन पत्रिकालाई यसैगरी निरन्तरता दिँदै जानेछौं ।’अनलाइन पत्रिकाहरुको भीडमा गणनामा एक थपिनुमात्र आफूहरुको सोच नभएको भन्दै सम्पादक चौलागाईंले अहिलेको सत्य र पुष्टि हुने खबरलाई सम्प्रेषण गर्ने ध्येय रहेको बताए ।
बढ्दो सूचना प्रविधीको विकाससंगै अनलाइन पत्रकारिताको फैलदो सञ्जालभित्र देखा परेका विकृती, चुनौतीलाई छिचोल्दै सत्य स्थापित गराउँने अभियानमा लोकखबरले आफूलाई उभ्याउन प्रतिबद्घ छ । देशमा सञ्चार माध्यमको संख्या थपिएको तुलनामा यसको गुणात्मक फड्को देखिएको छैन । स्थानीय स्तरका सञ्चारमाध्यम सञ्चालनका लागि न्यूनतम लागत पनि आर्थिक आर्जन गर्न सहज नभइ रहेको अवस्थामा अनेकौं चुनौतीको सामना गर्दै आफ्नो यात्रालाई निरन्तरता दिइएको चौलागाईंको भनाई छ ।











































