मोतिबिन्दुका २ सय ५० बिरामीको सफल शल्यक्रिया, प्रमुख मीना लामाले गरिन् प्रशंसा

लोकखबर
२०८० माघ २५, बिहीबार १८:२५

मकवानपुर । लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल र हिमालयण कट्रयाक प्रोजेक्टको संयुक्त आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा विभिन्न स्थानमा भएको निःशुल्क आँखा परीक्षण शिविरबाट पहिचान भएका २ सय ५० जना मोतिबिन्दुका बिरामीमध्ये १ सय ८ जनाको सफल शल्यक्रिया पश्चात बिहीबार डिस्चार्ज भएका छन् ।

डिस्चार्ज भएका सबै बिरामीको स्वास्थ्यलाभको कामना गर्दै हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले लायन्स क्लवहरुले गरेका सामाजिक कार्यहरुको प्रशंसा गरिन् ।

बाँकी १ सय ४२ जना मोतिबिन्दुका बिरामीहरुको बिहीबार शल्यक्रिया भएको लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ का एरिया चिफ जेपी यादवले बताए । बिहीबार शल्यक्रिया भएका सबै बिरामीहरुलाई शुक्रबार डिस्चार्ज गरिने हेटौंडा सामुदायिक आँखा अस्पतालले जनाएको छ ।

मोतिबिन्दुको शल्यक्रिया भएपछि आँखा प्रष्ट देखिएको सिमराकी ६९ बर्षिया सोनादेवीले बताइन् । आँखा उपचारका लागि अस्पताल जान सक्ने अवस्था नहुँदा घर नजिकै शिविर चलाई निशुल्क उपचार गरिदिएकोमा शिविर सञ्चालन गर्ने संस्थाहरुलाई उनले धन्यवाद व्यक्त गरिन् ।
लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ अन्तरगत क्रियाशील सम्पूर्ण लायन्स क्लव तथा लियो क्लवहरुको सहकार्यमा माघ २० गतेदेखि २३ गतेसम्म विभिन्न स्थानमा भएको आँखा परीक्षण शिविरमा १ हजार ६ सय १७ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये २ सय ५० जनामा मोतिबिन्दुका बिरामीहरु पहिचान भएका थिए ।

मोतिबिन्दुका सबै बिरामीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिएको छ ।

लायन्स क्लवको वार्षिक भिजन कार्यक्रम अन्तरगत आँखा परीक्षण शिबिर सञ्चालन गरिएको मुख्य कार्यक्रम संयोजक हरिवंश भेटवालले बताए । स्रोत र साधनको अभावमा मोतिबिन्दुका कारण दृष्टिविहिन भएकाहरुलाई दृष्टि प्रदान गर्नु कार्यक्रमको उद्घेश्य भएको भेटवालले बताए ।
आँखा परीक्षण शिविर मकवानपुरको शिखरकटेरी, पाथिभरा, बुढिचौर, राईगाउ, बागमती बाराको इन्नरवासिरा, हरिपुर, हलखोरिया, हरपुर सर्लाही जिल्लाको रामनगरमा आँखा परीक्षण शिविर सञ्चालन सञ्चालन गरिएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको