हेटौंडा उपमहानगरपालिकाले मनायो स्थापना दिवस
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले मंगलबार ५५ औं स्थापना दिवस मनाएको छ । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुषालको प्रमुख आतिथ्यमा पालिकाले आफ्नो स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसमा मन्त्री भुषालले आयातलाई प्रतिस्थापन गर्ने गरी कृषिक्षेत्रको विकासका लागि काम गर्नुपर्ने बताए । उनले कृषकका लागि आवश्यक मलको अब समस्या नहुने दाबी गरे ।
नगरप्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरियो । नगरको विकासका लागि पत्रकारिताका माध्यमबाट योगदान पुर्याएको भन्दै पत्रकाहरु गणेश दुलाल, अमृत चिमरिया, भावना रिजाल, सुनीता विष्ट र निशा गुरुङलाई नगदसहित सम्मान गरियो भने विभिन्न संघसंस्था, सामाजिक अभियानकर्ता, व्यवसायी, करदाता तथा कर्मचारीलगायतलाई सम्मान गरियो ।
कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, नेपाली कांग्रेस मकवाानपुरका सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुरका उपसचिव सीता विष्ट, नेकपा माओवादी केन्द्रका सागर बानियाँ, नेकपा एकीकृत समाजवादी अध्यक्ष विष्णुप्रसाद दाहाल, जनता समाजवादी पार्टीका सोमबहादुर घलान, नगरस्तरीय बाल सञ्जालका सचिव प्रकृति भण्डारीलगायतले बोलेका थिए ।











































