तस्करी नियन्त्रणमा सक्रियता बढाउँदै नेपाल प्रहरी

लोकखबर
२०८० चैत्र २०, मंगलवार ११:००

मकवानपुर । देशका विभिन्न स्थानमा हुने तस्करीका घटनाहरु नियन्त्रणका लागि नेपाल प्रहरीले सक्रियता बढाएको छ । राजस्व चुहावट र तस्करीका क्षेत्रमा देखिएका नविन प्रवृत्ति र प्रमुख समस्याको पहिचान गरी प्रभावकारी रूपमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी सक्रिय रहेको हो ।

तस्करी नियन्त्रण गरी राजस्व संकलन गर्ने क्रममा चालू आर्थिक वर्षको हालसम्म जम्मा ४ अर्ब ३ करोड ४४ लाख ९६ हजार ५२९ रूपैयाँ ४८ पैसा बराबरको राजस्व संकलन भएको छ । उक्त राजस्व चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयन लगायतका शीर्षकहरूबाट संकलन भएको हो । ती शीर्षकमा संलग्न ७ हजार ६७९ जनालाई प्रहरीले कानुनी दायरामा ल्याई उक्त राजस्व संकलन गरेको हो ।

राज्यको कानून कार्यान्वयनको क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छलि, ट्राफिक कारबाही लगायतका कार्यहरूबाट नेपाल प्रहरीले वार्षिक रूपमा ठूलो परिमाणमा राजश्व संकलन गर्दै आएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “लुकाई छिपाई भन्सार छली गर्ने, अवैध रूपले सामान भित्र्याउने जस्ता राजस्व चुहावटका क्षेत्रमा देखिएका समस्या हुन् । यस्ता समस्याको समाधान गर्दै चेकजाँचमा कडाई गर्ने, आधुनिक प्रविधिको प्रयोग गर्ने, निग्रानी र नियन्त्रणका उपायहरू अवलम्बन गरी प्रहरीले सक्रिय रूपमा काम गर्दै राजस्व संकलनमा योगदान दिएको छ । राजस्व चुहावट नियन्त्रणमा खटिएका सरोकारवाला निकायका कर्मचारीहरूसँग समन्वय तथा सहकार्य गरी नेपाल प्रहरीले काम गर्दै आएको छ ।”

संकलित राजस्वमध्ये अवैध मालसमान बरामदीबाट १ अर्ब ३६ करोड ४४ लाख ३ हजार २५६ रूपैयाँ, ट्राफिक जरिवानाबाट १ अर्ब १० करोड ३६ लाख ४५ हजार ३५४ रूपैयाँ र फैसला कार्यान्वयनबाट १ अर्ब २ करोड ७८ लाख ३ हजार ५४३ रूपैयाँ संकलन भएको हो ।

चालू आर्थिक वर्षमा हालसम्म संकलित राजस्व तथ्यांकको विश्‍लेषण गर्दा राजस्व संकलन ६ अर्ब ५ करोड १७ लाख ४४ हजार ७९४ रूपैयाँ २२ पैसा हुने प्रक्षेपण गरिएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३५ दशमलव १७ प्रतिशतले बढी हुने आँकलन गरिएको छ । उक्त रकम मासिक औषत ५० करोड ४३ लाख १२ हजार ६६ रूपैयाँ दरले हुन आउँछ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ८ महिनाको राजस्व संकलन गत आर्थिक वर्षको ८ महिनाको तुलनामा ५० दशमलव २८ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७८/०७९ र आर्थिक वर्ष २०७९/०८० को फागुन मसान्तसम्मको राजस्व संकलन दुवै आर्थिक वर्षको ८/८ महिनाको तुलना गर्दा १० दसमलव ४ प्रतिशतले राजस्व संकलनमा कमी आएको देखिन्छ ।

यसैगरी आर्थिक वर्ष २०७८/०७९ को फागुन मसान्तसम्म २ अर्ब ९९ करोड १ लाख ४३ हजार २४८ रूपैयाँ ६२ पैसा र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ४ अर्ब ३ करोड ४४ लाख ९६ हजार ५२९ रूपैयाँ ४८ पैसा बराबर राजस्व संकलन भएको देखिन्छ । दुवै आर्थिक वर्षको ८ महिनाको राजस्व संकलन दर तुलना गर्दा ३५ दशमलव १८ प्रतिशतले वृद्धि भएको देखिन्छ । प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “वर्तमान गृहमन्त्री ज्यूको पदवहाली मितिभन्दा अगाडिको २२ दिन र पछाडिको २२ दिन अवधिको फैसला कार्यान्वयन बाहेकको राजस्व संकलन तर्फको तथ्यांक विश्‍लेषण गर्दा समग्रमा २४ दशमलव ५० प्रतिशतले राजस्व संकलन वृद्धि भएको देखिन्छ । सीमा क्षेत्रमा नेपाल प्रहरीको सक्रियता बढेकै कारण राजस्व संकलन वृद्धि तथा चुहावट नियन्त्रणमा उल्लेखनीय योगदान पुगेको हो ।”

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको